धकधई, फागुन २        जनता समाजवादी पार्टी, नेपाल (जसपा) को जनसम्पर्क तथा क्षेत्र नं. १ सम्पर्क कार्यालय रोहिणी गाउँपालिका–३, धकधईमा आज उद्घाटन गरिएको छ। रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद असलम खानले कार्यालय उद्घाटन गर्दै आफ्नो राजनीतिक संघर्ष पहिचान र अधिकारको सुनिश्चितताका लागि केन्द्रित रहेको बताउनुभयो। उहाँले मुलुकमा बढ्दो भ्रष्टाचार र बेरोजगारी अन्त्य गर्दै क्षेत्र नं. १ को समग्र विकासका लागि उम्मेदवारी दिएको उल्लेख गर्नुभयो। खानले विगतमा निर्वाचित प्रतिनिधिहरूले अपेक्षित विकास गर्न नसकेको दाबी गर्दै आफू जनताका समस्या संसदसम्म पुर्‍याउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रमा ठोस योजना ल्याउने क्षमता जसपा नेपालसँग रहेको जिकिर गर्दै उहाँले ‘छाता’ चुनाव चिह्नमा मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै जसपा नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवले क्षेत्र नं. १ मा यसपटक जसपा उम्मेदवारलाई अवसर दिनुपर्ने धारणा राख्नुभयो। उहाँले नेता तथा कार्यकर्तालाई एकताबद्ध भई घरदैलो अभियान सशक्त बनाउन आह्वान गर्नुभयो। जसपा नेपालका केन्द्रीय सदस्य विद्या प्रसाद यादवले क्षेत्रका नागरिकको अधिकार र पहिचानको पक्षमा सडकदेखि सदनसम्म आवाज उठाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जसपाका उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्नुभयो। थरुहट प्रदेश उपाध्यक्ष ब्यासमुनि चौधरीले थारु समुदायसहित सबै पिछडिएका वर्गको हक–अधिकारका लागि पार्टी निरन्तर संघर्षरत रहेको बताउनुभयो। समावेशी राजनीति नै मुलुकको दीर्घकालीन स्थायित्वको आधार भएको उहाँको भनाइ थियो। समाजवादी विद्यार्थी युनियनका वरिष्ठ उपाध्यक्ष राहुल यादवले युवाहरूलाई सक्रिय राजनीतिमा सहभागी गराउने समय आएको उल्लेख गर्दै आगामी निर्वाचनलाई अधिकार र सम्मानको लडाइँका रूपमा लिनुपर्ने बताउनुभयो। संविधान संशोधन र शिक्षित युवा नेतृत्वमार्फत मात्रै वास्तविक परिवर्तन सम्भव हुने उहाँको धारणा थियो।

लुम्बिनी प्रदेश सदस्य कान्छा कोहारले जनभावनाअनुसार पार्टी अघि बढिरहेको उल्लेख गर्दै आवश्यक परे अधिकार सुनिश्चित गर्न जनआन्दोलनको बाटो रोजिने चेतावनी दिनुभयो। जिल्ला सदस्य विनय यादवले पार्टी कार्यालय स्थापनाले जनतासँग प्रत्यक्ष सम्पर्क विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उत्पीडित र मधेसी समुदायको पक्षमा जसपा सधैं उभिएको दाबी गर्नुभयो। विनय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सदस्य विजय यादवले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको बताइएको छ।