नवलपरासी, फागुन १० नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भिमबहादुर थापा क्षेत्री ले किसानका मुद्दालाई प्राथमिकतामा राख्दै आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएको छ। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–८ बैकुण्ठपुरमा आयोजित सभामा बोल्दै उहाँले नेपाली कांग्रेस सधैंदेखि किसान र श्रमिक वर्गको पक्षमा दृढ रूपमा उभिँदै आएको उल्लेख गर्नुभयो।

उहाँले विकासका ठूला परियोजना अघि बढाउनुअघि कृषकका आधारभूत हकहित सुरक्षित गर्नुपर्नेमा जोड दिँदै मलको अभाव, गुणस्तरीय बीउबिजनको कमी, सिँचाइको समस्या तथा उत्पादनको उचित मूल्य नपाउने अवस्थालाई अन्त्य गर्न विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो। निर्वाचित भएमा समयमा मल उपलब्ध गराउने, दीर्घकालीन सिँचाइ योजना सञ्चालन गर्ने र कृषि उपजको बजार व्यवस्थापनमा राज्यको सक्रिय भूमिका सुनिश्चित गर्ने उहाँको भनाइ थियो।
त्यसैगरी, कांग्रेस विजयी भए पाँच वर्षभित्र हरेक घरधुरीमा स्वच्छ खानेपानी पुर्याउने, परासीस्थित जिल्ला अस्पताललाई आइसियु सेवासहित स्तरोन्नति गर्ने तथा स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने योजना अघि सारिएको बताउनुभयो। शिक्षा क्षेत्र सुधारका लागि प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै क्रमिक रूपमा निःशुल्क शिक्षातर्फ अघि बढ्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो। साथै, नवलपरासीलाई औद्योगिक करिडोरका रूपमा विकास गरी रोजगारी सिर्जना गर्ने र पर्यटकीय सम्भावनाको प्रवर्द्धन गर्दै जिल्लालाई आकर्षक गन्तव्य बनाउने लक्ष्य रहेको उहाँको भनाइ थियो।
आगामी फागुन २१ गते हुने निर्वाचनमा कांग्रेसका पक्षमा मत दिन मतदातासँग अपिल गर्दै उहाँले समृद्ध नवलपरासी निर्माणका लागि कांग्रेसको जित अपरिहार्य रहेको धारणा राख्नुभयो।

