मणिग्राम, चैत ३
मणिग्राम स्थित राममणि बहुमुखी क्याम्पस मा प्राध्यापकहरूको क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको दुईदिने गोष्ठी मंगलबार सम्पन्न भएको छ। ‘प्राध्यापकका लागि शिक्षण विधि र सूचना प्रविधि’ विषयमा केन्द्रित उक्त कार्यशालामा त्रिभुवन विश्वविद्यालय का सह–प्राध्यापक विष्णुप्रसाद वाग्ले र उपप्राध्यापक उज्ज्वल अधिकारीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा सह–प्राध्यापक वाग्लेले वर्तमान परिवेशमा विद्यार्थीको मनोविज्ञान बुझ्दै परिणाममुखी शिक्षण पद्धति अवलम्बन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले प्रभावकारी शिक्षणका लागि नयाँ प्रविधि र व्यवहारिक अभ्यासलाई जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी उपप्राध्यापक अधिकारीले तीव्र गतिमा विकास भइरहेको सूचना प्रविधिलाई शिक्षण प्रक्रियामा समावेश गरी दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो। गोष्ठी उद्घाटन सत्रमा क्याम्पस सञ्चालक समितिका सदस्य तारानाथ कण्डेलले यस्ता कार्यक्रमले प्राध्यापकहरूको शैक्षिक तथा प्राज्ञिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले वर्तमान समयमा परिणाममुखी शिक्षण सिकाइ चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै समयअनुकूल शिक्षण शैलीलाई अद्यावधिक गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।