भैरहवा, फागुन ९    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनियाँ ले रुपन्देही क्षेत्र नं. ४ मा चुनावी अभियानलाई तीव्र पार्दै घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्। पछिल्ला दिनहरूमा उनी मतदाताको घर–आँगनमै पुगेर स्थानीय अगुवा, महिला तथा युवासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। शनिबार सम्मरीमाई गाउँपालिका वडा नं. १ र २ मा सम्पन्न भेटघाट कार्यक्रममा सहभागी स्थानीयले मर्चवार क्षेत्रमा अब ठोस परिवर्तन आवश्यक रहेको धारणा राखे। उनीहरूले सडक स्तरोन्नति, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, रोजगारीका अवसर र पारदर्शी शासन व्यवस्थालाई मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

वर्षौंदेखि आधारभूत पूर्वाधारको कमी झेल्दै आएको उल्लेख गर्दै स्थानीयवासीले यसपटक परिणाम दिने नेतृत्व रोज्ने संकेत गरेका छन्। उनीहरूको भनाइमा विकासका प्रतिबद्धता धेरै सुने पनि कार्यान्वयन कमजोर हुँदा अपेक्षित परिवर्तन हुन सकेको छैन। घरदैलो अभियानका क्रममा बोल्दै बनियाँले निर्वाचित भए लगत्तै सडक पूर्वाधार सुधारलाई पहिलो एजेन्डा बनाउने बताए। शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्दै सेवाको गुणस्तर उकास्ने प्रतिबद्धता पनि उनले जनाए। “मर्चवारलाई अभाव र पछौटेपनको चिनारीबाट मुक्त गराएर अवसरको केन्द्र बनाउनु आवश्यक छ,” उनले भने।

कृषि क्षेत्रलाई सशक्त बनाउने विषय पनि उनको प्राथमिक योजनामा परेको छ। सिँचाइ विस्तार, आधुनिक प्रविधिको प्रयोग, मल–बीउको समयमै उपलब्धता र उत्पादनको उचित बजार सुनिश्चिततामार्फत कृषि व्यवसायलाई आकर्षक बनाइने उनले बताए। युवालाई कृषि उद्यममा आकर्षित गर्ने कार्यक्रम ल्याइने उनको भनाइ छ। घरदैलो अभियानसँगै रुपन्देही–४ मा चुनावी सरगर्मी बढ्दो छ। मतदाताले व्यक्त गरेको परिवर्तनको चाहना आगामी निर्वाचन परिणाममा कति प्रतिबिम्बित हुन्छ भन्नेमा अहिले सबैको ध्यान केन्द्रित भएको छ।