भैरहवा, फागुन २७
रुपन्देही क्षेत्र नं. ३ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. लेखजंग थापा ले भीम अस्पताल को अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा उहाँले अस्पताल प्रमुख डा. वर्षा थापा लगायत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूसँग भेटघाट गर्दै अस्पतालको सेवा प्रवाह, उपलब्ध उपकरण, भौतिक पूर्वाधार, जनशक्ति अवस्था र व्यवस्थापन पक्षबारे जानकारी लिनुभएको थियो। वि.सं. १९९० सालमा केवल ३ शैयाबाट सुरु भएको भीम अस्पताल हाल विस्तार हुँदै ५० शैया सरकारीतर्फ र ५७ शैया अस्पताल विकास समितितर्फ गरी कुल १०७ शैयाको क्षमतामा पुगेको छ। अस्पताल प्रशासनका अनुसार हाल ८५ शैया सञ्चालनमा छन्। करिब एक शताब्दीको इतिहास बोकेको यो अस्पताल रुपन्देही र आसपासका क्षेत्रका हजारौँ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको महत्वपूर्ण केन्द्रका रूपमा चिनिन्छ।
अस्पताल निरीक्षणपछि सांसद थापाले स्वास्थ्य सेवा अझ प्रभावकारी, व्यवस्थित र छिटो बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले आवश्यक चिकित्सक तथा विशेषज्ञ जनशक्ति थप गर्ने, आधुनिक उपकरणको व्यवस्था गर्ने तथा आकस्मिक सेवा र आईसीयू सुविधालाई विस्तार गर्नुपर्ने विषयमा अस्पताल व्यवस्थापनको ध्यानाकर्षण गराउनुभयो। त्यसैगरी बिरामीहरूले सहज र सम्मानजनक वातावरणमा गुणस्तरीय उपचार पाउने व्यवस्था गर्न अस्पतालको सरसफाइ, सेवा व्यवस्थापन र प्रशासनिक प्रक्रियालाई अझ पारदर्शी र व्यवस्थित बनाउनुपर्ने उहाँको भनाइ थियो। नन–मेडिकल कर्मचारी तथा सुरक्षाकर्मीहरूलाई आधारभूत स्वास्थ्य सचेतना र आपतकालीन सहयोगसम्बन्धी तालिम उपलब्ध गराउनुपर्ने सुझाव पनि उहाँले दिनुभयो। सांसद थापाले समयअनुसार प्रविधि, दक्ष जनशक्ति र प्रभावकारी व्यवस्थापनको संयोजनबाट भीम अस्पताललाई लुम्बिनी क्षेत्रकै उदाहरणीय सरकारी अस्पतालका रूपमा विकास गर्न सकिने उल्लेख गर्नुभयो। अस्पतालको स्तरोन्नति र सेवा विस्तारका लागि आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएकाले यसको सुनिश्चिततामा राज्यका सबै निकाय गम्भीर हुनुपर्ने धारणा राख्नुभयो।

