रुपन्देही, फागुन २१ जेनजी आन्दोलनको पृष्ठभूमिमा समयअगावै सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा रुपन्देही जिल्लाको प्रारम्भिक नतिजाले नयाँ राजनीतिक संकेत देखाउन थालेको छ। हालसम्म प्राप्त मतपरिणाम अनुसार जिल्लाका अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) को प्रभाव देखिएको छ। रुपन्देही राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने चर्चित नेताहरूको गृहजिल्ला मानिन्छ। यस जिल्लाबाट विष्णु पौडेल, खिमलाल भट्टराई, वासुदेव घिमिरे, बालकृष्ण खाँण, भरत कुमार शाह, सर्वेन्द्र नाथ शुक्ला तथा सन्तोष कुमार पाण्डे जस्ता प्रभावशाली नेताहरू प्रतिनिधित्व गर्दै आएका छन्।
तर यसपटकको मतगणनाले परम्परागत शक्ति सन्तुलनमा परिवर्तनको संकेत गरेको विश्लेषकहरू बताउँछन्। प्रारम्भिक नतिजा अनुसार रुपन्देहीका निर्वाचन क्षेत्र नं. १, २, ३ र ५ मा रास्वपाका उम्मेदवारहरू उल्लेख्य अग्रतामा देखिएका छन्। यसले जिल्लामा ‘घण्टी’को लहर बलियो रूपमा देखिएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ। यता रुपन्देही क्षेत्र नं. ४ मा भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार प्रमोद कुमार यादव प्रारम्भिक मतगणनामा झिनो मतान्तरले अग्रस्थानमा रहेका छन्। मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहे पनि प्रारम्भिक नतिजाले रुपन्देहीको राजनीतिक समीकरणमा नयाँ अध्याय सुरु हुने संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। जेनजी आन्दोलनपछि भएको यो निर्वाचनले परम्परागत दलहरूलाई चुनौती दिँदै नयाँ राजनीतिक शक्तिको उदयलाई बल दिएको चर्चा जिल्लाभर चलिरहेको छ। अब बाँकी मतगणनाले अन्तिम परिणाम कस्तो मोड लिन्छ भन्नेमा सबैको चासो केन्द्रित भएको छ।

