भैरहवा, फागुन १७      सिद्धार्थनगर–८ अन्तर्गत नेकपा रुपन्देही–३ का उम्मेदवार फैज अहमद खानले घरदैलो अभियानको क्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै नेपाल–भारत खुला सिमानाका अवसर र चुनौतीबारे चर्चा गर्नुभएको छ। उहाँले अवैध गतिविधि र चोरी–तस्करी बढ्दै गएपछि स्थानीय व्यवसायीहरू प्रत्यक्ष प्रभावित भएको उल्लेख गर्नुभयो। उहाँले भने, “हामीले अवैध कारोबार नियन्त्रण गर्दै वैध व्यापारलाई प्रोत्साहन गर्न आवश्यक नीति लागू गर्नुपर्छ। सुरक्षा निकायसँग समन्वय, प्रविधिको प्रयोग र प्रभावकारी अनुगमन प्रणालीमार्फत सीमावर्ती क्षेत्रमा व्यवस्थित वातावरण निर्माण गर्न सकिन्छ।”

उहाँका अनुसार वर्षौंदेखि स्थानीय व्यवसायीहरूले सीमा व्यवस्थापनको माग गर्दै आएका थिए, तर पर्याप्त सुनुवाई भएन। अब उहाँले सीमालाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन योजना अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ। खानले निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी) पूर्ण क्षमतामा सञ्चालन गरी रेल्वे कार्गोसँग जोड्ने योजना प्रस्तुत गर्नुभएको छ। यसले आयात–निर्यात प्रक्रियालाई सहज बनाउने, ढुवानी लागत घटाउने र स्थानीय उद्योग–व्यवसायमा प्रत्यक्ष टेवा पुर्‍याउने उहाँको विश्वास छ।

उहाँले दुवै देशबीच कूटनीतिक तहमा पहल गर्दै संघीय सरकारमार्फत समन्वय बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। सीमावर्ती क्षेत्रको विकास, व्यापारमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार उहाँका मुख्य प्राथमिकता हुन्। घरदैलो अभियानमा स्थानीय मतदाताले पनि सक्रिय सहभागिता जनाएका थिए। उनीहरूले सीमामा अवैध काम रोक्न कडाइ, स्पष्ट नीति र प्रभावकारी निगरानी आवश्यक भएकोमा समर्थन व्यक्त गरेका छन्। उम्मेदवारको स्पष्ट योजना र प्रत्यक्ष संवादले मतदातामा सकारात्मक प्रभाव पारिरहेको देखिएको छ। खुला सिमानासँगै आएका चुनौतीलाई अवसरमा परिणत गर्ने उहाँको दृष्टिकोणले आगामी निर्वाचनमा मतदाताको निर्णयमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।