भैरहवा, फागुन १४ रुपन्देहीको राजनीतिक वृत्तमा पुनः एकपटक ‘घरफिर्ती’को चर्चा सुरु भएको छ। २०८२ वैशाख ३० मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्याग गर्नुभएका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता फेरि पार्टीमा आबद्ध हुनुभएको छ। बिहीबार भैरहवामा आयोजित एक कार्यक्रममा नेताहरूको उपस्थितिमा उहाँलाई औपचारिक रूपमा स्वागत गरिएको हो। कार्यक्रममा रुपन्देही–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार क्याप्टेन गौरव बोहरा, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार स्वाती थापा, जिल्ला अध्यक्ष एवं सिद्धार्थनगरका पूर्व नगरप्रमुख सागर प्रताप राणा लगायतको उपस्थिति रहेको थियो।मञ्चबाट बोल्दै गुप्ताले आफ्नो पुनरागमनलाई विचार र सिद्धान्तसँगको प्रतिबद्धतासँग जोड्नुभयो।

“केही समय विश्रामपछि पुनः सक्रिय राजनीतिमा फर्किएको हुँ। विगतका कारणभन्दा अबको सहकार्य महत्वपूर्ण हो,” उहाँले भन्नुभयो, “राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र तथा राजसंस्था–हिन्दूराष्ट्रको मुद्दा मेरो आस्थासँग जोडिएको विषय हो।” पछिल्लो समय देखिएका असन्तोष र मतभेदहरू अब अन्त्य भएको संकेत गर्दै उहाँले सकारात्मक सोचसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जिल्ला अध्यक्ष सागर प्रताप राणाले फरक मतलाई लोकतान्त्रिक संस्कारको रूपमा लिनुपर्ने धारणा राख्दै गुप्ताको पुनरागमनले संगठनलाई थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले गुप्तालाई उपयुक्त जिम्मेवारी दिइने संकेत समेत गर्नुभयो।

जिल्ला सचिव बलराम शर्माले आगामी निर्वाचनको सन्दर्भमा पार्टी एकताबद्ध भएर अघि बढिरहेको उल्लेख गर्दै गुप्ताको पुनः प्रवेशले संगठन सुदृढीकरणमा टेवा पुग्ने बताउनुभयो। राजनीतिक गतिविधिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय गुप्ता लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीका निवर्तमान अध्यक्ष, नेपाल–भारत अवध मैत्री समाजका अध्यक्ष, श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सिद्धार्थनगर–३, ४ र ५) का अध्यक्ष तथा काशी नोबल एकेडेमी सञ्चालक समितिका उपाध्यक्षलगायत विभिन्न संस्थामा संलग्न रहँदै आउनुभएको छ। रुपन्देही–३ मा निर्वाचनको माहोल तातिरहेका बेला गुप्ताको पुनरागमनले पार्टीभित्र उत्साह थप्नुका साथै स्थानीय राजनीतिक समीकरणमा नयाँ आयाम थपेको विश्लेषण गरिएको छ।

