भैरहवा, फागुन १३ रुपन्देही–३ मा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेसँगै गाउँ–टोलमा चुनावी गतिविधि बाक्लिएका छन्। विकासका मुद्दा केन्द्रमा राख्दै उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष भेटघाटमा जुटेका छन्। यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार फैज अहमद खाँनले घरदैलो अभियानलाई तीव्र बनाउँदै आफ्नो कार्ययोजना सार्वजनिक गरिरहनुभएको छ।

बुधबार सिद्धार्थनगर नगरपालिका–१० का विभिन्न बस्तीमा पुगेर उहाँले स्थानीयसँग छलफल गर्नुभयो। नागरिकहरूले शिक्षा, स्वास्थ्य सेवा, खानेपानी, ढल निकास र सडक पूर्वाधारको कमजोर अवस्थाबारे गुनासा राखेका थिए। आधारभूत सेवा प्रभावकारी रूपमा नपुगेको गुनासोलाई सम्बोधन गर्ने प्रतिबद्धता खाँनले व्यक्त गर्नुभयो। उहाँका अनुसार सुशासन विकासको पूर्वशर्त हो। भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्ने र जवाफदेही प्रशासन स्थापना गर्ने आफ्नो प्राथमिकता रहेको उहाँले बताउनुभयो। “इमानदार नेतृत्व र पारदर्शी कार्यशैलीबाटै विश्वास जितिन्छ,” उहाँको भनाइ छ।

कृषि क्षेत्रलाई मुख्य आधार मानेर समयमै मल, बीउ तथा आवश्यक सामग्री उपलब्ध गराउने, उत्पादनको बजार सुनिश्चित गर्ने र आधुनिक प्रविधिमार्फत उत्पादन वृद्धि गर्ने योजना उहाँले अघि सार्नुभएको छ। किसानको आय वृद्धि र आत्मनिर्भरता आफ्नो एजेन्डाको केन्द्रमा रहेको उहाँले उल्लेख गर्नुभयो। त्यसैगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको विषयमा पनि उहाँले जोड दिनुभएको छ। विमानस्थल पूर्ण क्षमतामा सञ्चालन भए पर्यटन र व्यापार क्षेत्र चलायमान भई स्थानीय स्तरमै रोजगारी सिर्जना हुने उहाँको विश्वास छ।

यसले वैदेशिक रोजगारीको निर्भरता घटाउन सहयोग पुग्ने दाबी उहाँले गर्नुभयो। समग्रमा पूर्वाधार विकास, उद्योग प्रवर्द्धन र पारदर्शी प्रशासनमार्फत भैरहवालाई व्यवस्थित र आधुनिक सहर बनाउने लक्ष्यसहित खाँन चुनावी मैदानमा सक्रिय देखिनुभएको छ। आगामी फागुन २१ गते हुने मतदानमा परिवर्तनका पक्षमा उभिन उहाँले मतदातासँग आग्रह गर्नुभएको छ।

