भैरहवा, फागुन ११ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रुपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार कन्हैया बनियाँले घरदैलो अभियानलाई तीब्र बनाउँदै मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिनुभएको छ। सम्मरीमाई गाउँपालिका सहित विभिन्न टोलबस्तीमा पुगेर उहाँले नागरिकका गुनासा, अपेक्षा र सुझाव संकलन गरिरहनुभएको छ।

भेटघाटका क्रममा स्थानीयले सडक पूर्वाधार सुधार, शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच, रोजगारीका अवसर विस्तार तथा भ्रष्टाचार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राख्न आग्रह गरेका छन्। बनियाँले यी विषयलाई आफ्नो चुनावी एजेन्डाको केन्द्रमा राखेको बताउँदै जनउत्तरदायी र पारदर्शी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। “राजनीति पदका लागि होइन, सेवाका लागि हो,” भन्ने धारणा राख्दै उहाँले कृषिको आधुनिकीकरण, युवालाई स्वदेशमै अवसर सिर्जना र सुशासन प्रवर्द्धनलाई अभियानको मूल लक्ष्य बनाएको उल्लेख गर्नुभयो।
रुपन्देही–४ मा चुनावी गतिविधि बढ्दै जाँदा बनियाँको निरन्तर जनसम्पर्क र सक्रिय उपस्थितिले उहाँलाई प्रतिस्पर्धामा सशक्त उम्मेदवारका रूपमा स्थापित गरेको विश्लेषण गर्न थालिएको छ। अन्तिम निर्णय भने मतदाताको हातमा रहनेछ।

