भैरहवा, फागुन १०   Private and Boarding Schools’ Organization Nepal (PABSON) अन्तर्गतको प्याब्सन मायादेवी गाउँपालिका, रुपन्देहीले ‘प्रथम प्याब्सन मायादेवी खेल महोत्सव २०८२’ भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवको अध्यक्षतामा तथा ध्रुब नारायण चौधरी को प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो। समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले शिक्षासँगै खेलकुदलाई समान प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार खेलकुदले विद्यार्थीको शारीरिक तन्दुरुस्ती मात्र होइन, मानसिक सन्तुलन, अनुशासन र नेतृत्व क्षमताको विकासमा पनि उल्लेखनीय भूमिका खेल्छ।

विद्यालय तहबाटै खेल गतिविधि प्रवर्द्धन गर्न सके स्वस्थ र जिम्मेवार नागरिक तयार गर्न सकिने उहाँको भनाइ थियो। साथै, गाउँपालिकाले आगामी दिनमा खेल पूर्वाधार विकास तथा यस्ता सिर्जनात्मक कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। विशिष्ट अतिथि प्याब्सन लुम्बिनी प्रदेशका कोषाध्यक्ष महेश भुर्तेलले निजी विद्यालयहरूले शैक्षिक गुणस्तरका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। खेलकुदमार्फत प्रतिस्पर्धात्मक भावना, सहकार्य र आत्मविश्वास अभिवृद्धि हुने उल्लेख गर्दै उहाँले प्याब्सन मायादेवीले उदाहरणीय कार्य गरिरहेको बताउनुभयो र प्रदेशस्तरबाट सम्मानका लागि सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, एन–प्याब्सन सिद्धार्थनगरका अध्यक्ष अमित यादवले यस्ता कार्यक्रमले विद्यालयबीचको सम्बन्ध सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यवहारिक सीप सिकाउन खेलकुद प्रभावकारी माध्यम भएको उहाँको धारणा थियो। हार–जितलाई स्वाभाविक रूपमा लिएर थप उत्साहका साथ अगाडि बढ्न विद्यार्थीलाई उहाँले आग्रह गर्नुभयो। कार्यक्रममा बोल्दै प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवले पहिलो संस्करणमै अपेक्षाभन्दा उत्साहजनक सहभागिता देखिएको बताउनुभयो। विद्यार्थीहरूको सर्वाङ्गीण विकास प्याब्सनको प्राथमिकता रहेको उल्लेख गर्दै आगामी वर्षमा अझ व्यवस्थित र व्यापक रूपमा महोत्सव आयोजना गरिने जानकारी दिनुभयो।

स्वागत मन्तव्यका क्रममा कार्यक्रम संयोजक विष्णु थापाले महोत्सव सफल बनाउन योगदान पुर्‍याउने विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी तथा सहयोगी संस्थाप्रति कृतज्ञता व्यक्त गर्नुभयो। सीमित स्रोतसाधन हुँदाहुँदै पनि सबैको सहकार्यले कार्यक्रम सफल भएको उहाँले बताउनुभयो। १३ विद्यालयको सहभागिता रहेको महोत्सवमा १६ विधाका प्रतियोगिता सञ्चालन गरिएको थियो। समग्र उपाधि Evergreen Pacific English High School ले हात पारेको छ भने Everest Modern English School दोस्रो र Saraswati Educational English Boarding School तेस्रो स्थानमा रहेका छन्।

विजेता विद्यार्थीलाई प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरिएको थियो भने सहभागी विद्यालयलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएको छ। प्याब्सन मायादेवीका सचिव बिरजु नाथ सिंहद्वारा सञ्चालित कार्यक्रममा संस्थापक अध्यक्ष भरत गिरी, जिल्ला सदस्य चन्द्रिका चाई, प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिक, वडा नम्बर ७ का वडाध्यक्ष शैलेन्द्र कुमार पाण्डेय लगायत अभिभावक, शिक्षक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

महोत्सवअन्तर्गत एथलेटिक्स, विभिन्न दूरीका दौड, रिले, भलिबल, लङ जम्प, हाई जम्प लगायतका खेलहरू प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएका थिए।