रुपन्देही, क्षेत्र नं. १ नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चुनावी संकल्प यात्राको क्रममा आज रुपन्देही क्षेत्र नं. १ अन्तर्गत ओमसतिया–३, केरुवानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै आफू राज्यबाट सबैभन्दा बढी पीडित व्यक्तिमध्ये एक भएको बताएका छन्। सभालाई सम्बोधन गर्दै चौधरीले भने, “म उत्पीडित समुदायको प्रतिनिधि मात्र होइन, राज्यबाट सबैभन्दा पीडित व्यक्ति पनि हुँ। सरकारले गोरखा दक्षिणबाहु लगायत विभिन्न सम्मानबाट सम्मानित गरेको भए पनि जब अधिकारको कुरा उठाएँ, त्यही राज्यले मलाई उपेक्षा गर्यो।”

उनले थारु समुदायको हक र अधिकारको विषय उठाउँदा आफू घटना स्थलमा नरहेको अवस्थामा समेत सर्वस्व हरण र जन्मकैदजस्ता झूटा मुद्दा लगाई जेल जीवन बिताउन बाध्य पारिएको आरोप लगाए। उनले वर्तमान राजनीतिक अवस्थाप्रति प्रश्न उठाउँदै भने, “सत्र हजार मानिस मारेका र पाँच हजार बेपत्ता बनाएका आरोप लागेका नेताहरू लगायत ठगी मुद्दा संगठित अपराध र विभिन्न भ्रष्टाचार मुद्दा लागेका चुनाव लड्न पाउने, तर रेशम चौधरीले चुनाव लड्न नपाउने—यो कस्तो न्याय हो?”
चौधरीले आफू पछिल्लो निर्वाचनमा सबै विपक्षी दलका उम्मेदवारहरूको जमानत जफत हुनेगरी दुई तिहाइभन्दा बढी मत ल्याई विजयी भएको उल्लेख गर्दै पुनः जनताको साथ आफूलाई रहेको दाबी गरे। उनले खुला मञ्चबाट प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बालेन्द्र शाह र रवि लामिछानेलाई चुनौती दिँदै भने, “दम छ भने कैलालीमा रेशम चौधरीसँग प्रतिस्पर्धा गर्न आउनुहोस्, सबैको जमानत जफत हुनेगरी हराउँछु।”

कार्यक्रम जिल्ला अध्यक्ष विजय बहादुर सिंह चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि पार्टी संरक्षक रेशमलाल चौधरी, विशिष्ट अतिथि केन्द्रीय महासचिव तथा रुपन्देही क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार डा. उमा शंकर प्रसाद चौधरी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामु यादव, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार किरन गुप्ता, केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नं. ३ की प्रत्यक्ष उम्मेदवार नन्दा चौधरी, समानुपातिक उम्मेदवार राज किशोर हरिजन तथा क्षेत्र नं. १ का क्षेत्रीय संयोजक राम कुमार थारुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
सभामा ठूलो संख्यामा स्थानीय बासिन्दा तथा पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले थारु समुदायसहित सबै उत्पीडित वर्गको अधिकार सुनिश्चित गर्न राजनीतिक एकता र सशक्त आवाज आवश्यक रहेकोमा जोड दिएका थिए। नागरिक उन्मुक्ति पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न जिल्लामा चुनावी संकल्प यात्रा सञ्चालन गरिरहेको छ। पार्टीका नेताहरूले जनअधिकार, समानता र न्यायका मुद्दालाई केन्द्रमा राख्दै अभियानलाई तीव्रता दिएका छन्।

