भैरहवा, फागुन १० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन ले राप्रपालाई दिएको मत कहिल्यै खेर नजाने दाबी गर्दै मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गर्नुभएको छ। राष्ट्रहित, नागरिक अधिकार र राष्ट्रिय स्वाभिमानका मुद्दामा आफ्नो पार्टी अडिग रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले मतदानलाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो। शनिबार रुपन्देहीमा आयोजित राप्रपाको ‘संकल्प यात्रा’ अन्तर्गत खैरेनी चोक र धकधई बजारमा आयोजित कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मतदान नागरिकको मौलिक अधिकार मात्र नभई देशको भविष्य निर्माण गर्ने प्रमुख माध्यम भएको उल्लेख गर्नुभयो। “मतमार्फत नै देशको दिशा तय हुन्छ,” उहाँले भन्नुभयो, “त्यसैले आफ्नो मत सोचेर, भविष्य सम्झेर दिनुहोस्।”

रुपन्देही–१ मा राप्रपाका उम्मेदवार प्रज्जवल बोहराको चुनावी प्रचारका क्रममा क्षेत्रीय कार्यक्रममा सहभागी हुन आउनुभएका लिङ्देनले मुलुकमा दीर्घकालीन स्थायित्वका लागि दल र राजसंस्थाबीच राष्ट्रिय समझदारी आवश्यक रहेको धारणा राख्नुभयो। पटक–पटक समझदारीको प्रस्ताव राख्दा पनि त्यसलाई बेवास्ता गरिएको भन्दै उहाँले अब जनमतमार्फत दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो। “नयाँ सहमति बिना देश अगाडि बढ्न सक्दैन,” उहाँले चेतावनी दिँदै भन्नुभयो, “राजा र दलबीच देखिएको दूरी अन्त्य हुनुपर्छ, अन्यथा मुलुक झन् जटिलतामा फस्न सक्छ।”
उहाँले निर्धारित आवधिक निर्वाचन अगाडि सारिँदैमा मूल समस्या समाधान नहुने जिकिर गर्दै राजनीतिक स्थायित्व र सहकार्यको वातावरण निर्माणमा मतदाताको भूमिका निर्णायक हुने बताउनुभयो। २०४६ सालपछिका प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक अभ्यासप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष लिङ्देनले विगत तीन दशकको राजनीतिक नेतृत्व र उपलब्धिको समीक्षा गर्न आग्रह गर्नुभयो। “३० वर्षले जनतालाई के दियो? यो प्रश्नको उत्तर खोजेर मात्र मत हाल्नुहोस्,” उहाँले भन्नुभयो।
कार्यक्रममा राप्रपाका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। रुपन्देही–१ बाट दिवंगत नेता दीपक बोहराका छोरा प्रज्जवल बोहरा उम्मेदवार रहनुभएको छ। युवा नेतृत्वलाई अवसर दिनुपर्नेमा जोड दिँदै अध्यक्ष लिङ्देनले उहाँको विजयले क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा नयाँ सन्देश दिने विश्वास व्यक्त गर्नुभयो। राप्रपाले रुपन्देहीमा विशाल र्यालीसहित संकल्प यात्रा सम्पन्न गरेको जनाएको छ।

