भैरहवा, फागुन ८ आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि औपचारिक प्रचार अभियान सुरु भएसँगै रुपन्देहीका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारहरू घरदैलो कार्यक्रममा सक्रिय बनेका छन्। यही क्रममा क्षेत्र नं. ३ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार फैज अहमद खाँनले प्रचारसँगै मतदाता सचेतना कार्यक्रमलाई पनि सँगै अघि बढाएका छन्। घरदैलो भेटघाटका बेला नेकपाका कार्यकर्ताहरूले नमूना मतपत्र प्रयोग गरेर मतदान गर्ने सही तरिकाबारे मतदातालाई जानकारी गराइरहेका छन्। अघिल्ला चुनावहरूमा मतदान प्रक्रिया नबुझ्दा उल्लेख्य मात्रामा मत बदर भएको अनुभवलाई ध्यानमा राख्दै यसपटक मतदाता शिक्षालाई प्राथमिकता दिइएको अभियान टोलीले जनाएको छ।

सिद्धार्थनगर–२ का दिलिप प्रजापतिका अनुसार प्रचारप्रसारका क्रममा २–३ जना कार्यकर्तालाई विशेष रूपमा मतदाता शिक्षाका लागि खटाइने गरिएको छ। उनले मतदाताको मत सही रूपमा सदर होस् भन्ने उद्देश्यले दलगत आग्रहभन्दा माथि उठेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए। आफूहरूले समर्थन माग्ने भए पनि सबै मतदाताको भोट मान्य होस् भन्ने सोचका साथ अभियान चलाइएको उनको भनाइ छ। यसैबीच निर्वाचन आयोगले पनि देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार जिल्लाका १ सय ५५ वडामा स्वयंसेवक परिचालन गरी घरदैलो र टोलस्तरमै पुगेर मतदान प्रक्रियाबारे जानकारी दिइँदैछ। नमूना मतदान अभ्याससमेत गराइने यो कार्यक्रम फागुन १७ गतेसम्म जारी रहने जनाइएको छ।


