काठमाडौँ, फागुन ६ निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित गतिविधिमा प्रविधिको दुरुपयोग नगर्न सरोकारवाला सबै पक्षलाई सचेत गराएको छ। प्रविधिको गलत प्रयोगले निर्वाचनको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने भएकाले जिम्मेवार ढंगले प्रयोग गर्न आयोगले आग्रह गरेको हो। आयोगले विशेष गरी सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलिन नदिन र यस्ता सामग्री प्रसारण–प्रचार नगर्न आम सञ्चार माध्यम तथा सम्बन्धित निकायलाई अनुरोध गरेको जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर तयार गरिएका भ्रामक वा भ्रम सिर्जना गर्ने सामग्री सामाजिक सञ्जालमा नप्रसारण गर्न आग्रह गर्नुभयो। उहाँले निर्वाचनलाई स्वच्छ, मर्यादित र पारदर्शी बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी, चुनाव केन्द्रित मत सर्वेक्षणको नतिजा सार्वजनिक नगर्न पनि आयोगले ध्यानाकर्षण गराएको छ। निर्वाचन आचारसंहिता २०८२ले मतदाताको स्वतन्त्र निर्णय प्रक्रियामा असर पार्न सक्ने गतिविधि निषेध गरेको उल्लेख गर्दै आयोगले पूर्वानुमानित नतिजा सार्वजनिक गर्दा उम्मेदवार निरुत्साहित हुने तथा प्रतिस्पर्धात्मक वातावरण प्रभावित हुन सक्ने चेतावनी दिएको छ। नयाँ प्रविधिले सूचना आदान–प्रदानलाई सहज बनाएको भए पनि यसको दुरुपयोगले लोकतान्त्रिक अभ्यासमा नकारात्मक असर पार्न सक्ने भन्दै आयोगले आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षलाई आग्रह गरेको छ।

