भैरहवा, फागुन २  सिद्धार्थ इन्ट्रिग्रेटेड स्कूल एशोसियसन (सिसा) रुपन्देहीको आयोजनामा क्रिकेट प्रतियोगिता २०८२ सम्पन्न भएको छ। सिसा रुपन्देहीका अध्यक्ष एल.बी. रौतारको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिका–१०का वडाध्यक्ष सुर्जमान यादवको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न गरिएको हो।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले विद्यालय तहबाट खेलकुद गतिविधि विस्तार हुनु सकारात्मक पक्ष भएको उल्लेख गरे। उनले स्थानीय तहले यस्ता कार्यक्रमलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै खेलकुदले विद्यार्थीलाई स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। सिसाका प्रमुख सल्लाहकार अमित यादवले यस्ता प्रतियोगिताले विद्यार्थीमा प्रतिस्पर्धात्मक सोच र आत्मविश्वास अभिवृद्धि गर्ने धारणा राखे। उनका अनुसार विद्यालयस्तरका खेलकुद गतिविधिले भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्न टेवा पुर्‍याउँछ। कार्यक्रमका अध्यक्षसमेत रहेका एल.बी. रौतारले सिसा रुपन्देहीद्वारा पहिलो पटक आयोजना गरिएको क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनु गौरवको विषय भएको बताए। उनले खेलमार्फत अनुशासन, नेतृत्व क्षमता र टिमवर्क विकास गर्ने उद्देश्यसहित आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

कार्यक्रममा सिसाका प्रमुख सल्लाहकार अमित यादव, सचिव राहुल यादव, विशिष्ट अतिथि भरत गिरी, कोषाध्यक्ष मनोज जिसीलगायतको उपस्थिति रहेको थियो। प्रतियोगितामा अम्पायरको भूमिका बाबुलाल केवट र नारायण कश्यपले निर्वाह गरेका थिए। प्रतियोगिताअन्तर्गत पहिलो खेल सिद्धार्थ एकेडेमी र युनिक पब्लिक स्कुलबीच भएको थियो। युनिक पब्लिक स्कुलले ९४ रनको लक्ष्य प्रस्तुत गर्दै सिद्धार्थ एकेडेमीलाई पराजित गरी क्वालिफायरमा स्थान बनायो। दोस्रो खेल ब्राइट स्टार बोर्डिङ स्कुल र मोडर्न पब्लिक स्कुलबीच सम्पन्न भएको थियो। उक्त खेलमा ब्राइट स्टारले ११४ रनको लक्ष्य दिँदै मोडर्न पब्लिक स्कुललाई हराउँदै फाइनलमा प्रवेश गर्‍यो।

फाइनल खेल ब्राइट स्टार बोर्डिङ स्कुल र युनिक पब्लिक स्कुलबीच प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भयो। उपाधि ब्राइट स्टार बोर्डिङ स्कुलले जित्दा युनिक पब्लिक स्कुल दोस्रो स्थानमा रह्यो। मोडर्न पब्लिक स्कुल तेस्रो तथा सिद्धार्थ एकेडेमी सान्त्वना स्थानमा सीमित भयो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि ब्राइट स्टार बोर्डिङ स्कुलका रुपेश यादव र इरफान खान ‘म्यान अफ द म्याच’ घोषित भएका थिए। विद्यालयस्तरमा खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले स्थानीय तहमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।