भैरहवा, माघ २५
सिद्धार्थ इन्ट्रिग्रेटेड स्कूल एसोसिएसन (सिसा) रुपन्देहीले शिक्षा क्षेत्रमा पत्रकारितामार्फत उल्लेखनीय योगदान पुर्‍याएको कदर गर्दै पत्रकार उर्मिला यादवलाई सम्मान गरेको छ। शनिबार भैरहवामा आयोजना गरिएको अन्तर विद्यालय नृत्य प्रतियोगिताको अवसरमा यादवलाई नगद ५ हजार १ सय रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिएको हो।
विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय यादव हाल रुपन्देही खबर की प्रबन्धक तथा समाचार सम्पादकको जिम्मेवारीमा रहनु भएको छ। उहाँ विभिन्न सञ्चारमाध्यममा आबद्ध भई शिक्षा, सामाजिक तथा समसामयिक विषयमा निरन्तर कलम चलाउँदै आउनु भएको छ।
यादव नेपाल पत्रकार महासंघ नवलपरासीकी उपाध्यक्ष, सञ्चारिका समूह लुम्बिनी प्रदेशकी कार्यसमिति सदस्य, यदुवंशी युवा समाज रुपन्देही तथा सिर्जनशील साहित्यिक समाज (सिसास) को कार्यसमिति सदस्यसमेत रहनु भएको छ। सोही कार्यक्रममा जब लिंक भैरहवाकी प्रबन्धक अनामिका यादवलाई पनि सम्मान गरिएको थियो।


सिसा रुपन्देहीमा आबद्ध विद्यालयहरूबीच सम्पन्न अन्तर विद्यालय नृत्य प्रतियोगितामा सिनियर समूहअन्तर्गत ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुल सिद्धार्थनगर–१ रानीगाउँ प्रथम, मोडर्न पब्लिक स्कुल सिद्धार्थनगर–८ द्वितीय, युनिक पब्लिक बोर्डिङ स्कुल ओमसतिया–४ तृतीय तथा सिद्धार्थ एकेडेमी सिद्धार्थनगर–७ चौथो स्थानमा रहे।
त्यसैगरी जुनियर समूहतर्फ ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुल सिद्धार्थनगर–१ प्रथम हुन सफल भयो भने सिद्धार्थ एकेडेमी सिद्धार्थनगर–७ द्वितीय, मोडर्न पब्लिक स्कुल सिद्धार्थनगर–८ तृतीय तथा युनिक पब्लिक बोर्डिङ स्कुल ओमसतिया–४ ले सान्त्वना स्थान प्राप्त गरेको छ।
विजेता तथा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गरिएको थियो भने सहभागी विद्यालयका प्राचार्य, नृत्य शिक्षक तथा प्रशिक्षकहरूलाई मायाको चिनोसहित सम्मान गरिएको थियो।
सिसा रुपन्देहीका अध्यक्ष एल.बी. रौतारको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै पोख्रेलले विद्यालयलाई विद्यार्थीको भविष्य निर्माण गर्ने मुख्य थलोको रूपमा उल्लेख गर्नुभयो। उहाँले शैक्षिक ज्ञानसँगै जीवनोपयोगी सीप, कला र संस्कृतिको विकासमा विद्यालयले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।


कार्यक्रममा सिसा रुपन्देहीका सल्लाहकार तथा ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुलका प्रबन्धक अमित यादवले निजी विद्यालयहरूले लोक संस्कृति, संगीत र नृत्य संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै यस्ता प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास र सृजनशीलता विकास गर्ने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी सिसा रुपन्देहीका अध्यक्ष रौतारले आपसी सहकार्य, स्वस्थ प्रतिस्पर्धा र अनुभव आदान–प्रदानको उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिँदै आएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुलका को–अर्डिनेटर नारायण कश्यपले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन मोडर्न पब्लिक स्कुल भैरहवाका प्राचार्य मुकेश यादवले गर्नुभएको थियो। कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षा क्षेत्रका सरोकारवाला तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।