फाल्गुन २६
(ग्यास विक्रेता महासंघ नेपाल)
ले बजारमा ग्यास अभाव तथा विक्रेताले अनुचित मूल्यमा ग्यास बिक्री गरिरहेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यममा प्रकाशित समाचारले आम उपभोक्तामा भ्रम सिर्जना गरेको बताएको हो। महासंघका अनुसार केही स्थानमा देखिएको असहज परिस्थितिका कारण उपभोक्तामा ग्यास नपाइने हो कि भन्ने चिन्ता स्वाभाविक भए पनि सरकारले तोकेको मूल्यभन्दा बढी मूल्य लिएर ग्यास बिक्री गर्नु गम्भीर अपराध भएको उल्लेख गरिएको छ। यस्तो कार्य नगर्न सम्पूर्ण ग्यास विक्रेतालाई महासंघले अपिल गरेको छ।
महासंघले यदि कसैले सरकारी मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गरेको पाइएमा त्यस्ता व्यक्ति तथा उद्योगमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै, यस्तो गैरकानुनी गतिविधिमा संलग्न हुने जो–कोहीलाई कारबाही गरिने भएकाले सबै जिल्ला संघमार्फत सम्पूर्ण विक्रेतालाई सचेत रहन पनि महासंघले आग्रह गरेको छ। महासंघले वर्तमान परिस्थितिमा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउँदै अनुचित मूल्य असुली तथा कालोबजारी जस्ता गतिविधि नगर्न सबैलाई सचेत गराएको छ।