भैरहवा, फागुन १७      फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन नजिकिँदै गर्दा रुपन्देही–३ मा राजनीतिक समीकरण फेरबदल हुने संकेत देखिएको छ। चुनावी सरगर्मीबीच दुई फरक दलसँग आबद्ध नेताहरूले पार्टी त्याग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारलाई साथ दिने घोषणा गरेका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा समानुपातिक उम्मेदवार विमलादेवी वि.क.ले आइतबार पार्टीको साधारण सदस्यता र उम्मेदवार सूची दुवैबाट अलग हुने निर्णय सार्वजनिक गर्नुभएको छ। पार्टी संयोजकलाई बुझाएको पत्रमा उहाँले राष्ट्रिय स्वाधीनता, धर्म र संस्कृतिमाथि चुनौती बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रवादी धारलाई सुदृढ बनाउन राप्रपाका उम्मेदवार गौरव बोहरालाई समर्थन गर्ने उल्लेख गर्नुभएको छ।

उहाँले मतदातालाई ‘हलो’ चुनाव चिह्नमा मतदान गर्न आग्रह समेत गर्नुभएको छ। यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी सिद्धार्थनगर नगरपालिका–३ का सभापति राजकुमार श्रेष्ठले पनि पार्टी परित्याग गरी राप्रपामा समाहित भएको घोषणा गर्नुभएको छ। भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले रास्वपाबाट आफ्नो सम्पूर्ण जिम्मेवारी त्यागेको जानकारी दिनुभयो। श्रेष्ठले राजसंस्था पुनर्स्थापना, हिन्दूराष्ट्रको अवधारणा, संघीयता पुनरावलोकन र भ्रष्टाचार नियन्त्रण जस्ता विषयलाई राप्रपाको मूल एजेन्डा बताउँदै ती मुद्दा अहिलेको आवश्यकता भएको धारणा राख्नुभयो।

निर्वाचनको पूर्वसन्ध्यामा भएका यी घटनाक्रमले रुपन्देही–३ को चुनावी प्रतिस्पर्धालाई थप चासोको विषय बनाएको छ। राप्रपाले ‘हलो’ चिन्हमार्फत राष्ट्रवाद र सुशासनको सन्देश प्रवाह गरिरहेको छ भने अन्य दलहरू पनि आफ्नो आधार बलियो बनाउन सक्रिय छन्। उपनिर्वाचनको नतिजाले क्षेत्रको आगामी राजनीतिक दिशा तय गर्ने विश्लेषण गरिएको छ।