भैरहवा, फागुन १७ रुपन्देही–३ मा निर्वाचन नजिकिँदै जाँदा विकास र पर्यटन मुख्य एजेन्डाका रूपमा अघि बढिरहेका छन्। यसै सन्दर्भमा गौरव बोहराले पर्यटनकेन्द्रित समग्र विकासको स्पष्ट खाका सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार बोहराले भैरहवालाई अन्तर्राष्ट्रिय स्तरमा चिनिने पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित चुनावी अभियानलाई अघि बढाइरहनुभएको छ। शनिबार बुटवल उपमहानगरपालिका–१४ देखि १९ सम्म सञ्चालन गरिएको घरदैलो कार्यक्रममा उहाँले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभयो। “म पदका लागि होइन, दायित्वका लागि राजनीतिमा आएको हुँ,” उहाँको भनाइ थियो, जसबाट सेवामूलक राजनीति आफ्नो प्राथमिकता रहेको सन्देश दिन खोजिएको देखिन्छ।

स्वर्गीय दिपक बोहराको योगदान स्मरण गर्दै बोहराले पारिवारिक पृष्ठभूमिले प्रेरणा दिए पनि आफूले व्यक्तिगत अनुभव, अनुशासन र कार्यक्षमताका आधारमा जनताको विश्वास जित्न चाहेको स्पष्ट पार्नुभयो। लामो पेशागत यात्राबाट आर्जित अन्तर्राष्ट्रिय अनुभवलाई अब आफ्नो क्षेत्रको विकासमा प्रयोग गर्ने उहाँको योजना छ। भैरहवाको सीमा नाका, अन्तर्राष्ट्रिय हवाई पहुँच, धार्मिक तथा सांस्कृतिक सम्पदा र भौगोलिक अवस्थिति जस्ता पक्षलाई समेटेर एकीकृत पर्यटन विकास मोडेल लागू गर्ने उहाँको प्राथमिकता रहेको छ। पूर्वाधार सुदृढीकरण, निजी क्षेत्रसँग साझेदारी, लगानीमैत्री नीति र पारदर्शी कार्यान्वयनमार्फत मात्र सम्भावनालाई उपलब्धिमा रूपान्तरण गर्न सकिने उहाँको धारणा छ।
“भैरहवालाई केवल ट्रान्जिट सहरमा सीमित राख्न हुँदैन, यसलाई गन्तव्य सहरका रूपमा उभ्याउनुपर्छ,” भन्ने सन्देशसहित बोहराले रुपन्देही–३ लाई आर्थिक गतिविधिको गतिशील केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चुनावी प्रतिस्पर्धा चर्किंदै जाँदा उहाँका यी योजनाले मतदातामाझ कस्तो प्रभाव पार्छ भन्ने चासो बढ्दो छ

