नवलपरासी, फागुन १५   प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार भिमबहादुर थापा (भरत) ले क्षेत्रलाई आर्थिक र सामाजिक रूपमा समृद्ध बनाउने आफ्नो प्रमुख उद्देश्य रहेको उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेसका तर्फबाट प्रतिस्पर्धामा रहेका थापाले घरदैलो तथा भेटघाट कार्यक्रममा विकास, रोजगारी प्रवर्द्धन र सुशासनलाई मुख्य चुनावी मुद्दाका रूपमा अघि सारेका छन्।

उहाँका अनुसार अधुरा रहेका पूर्वाधार आयोजना सम्पन्न गर्नुका साथै कृषि र पर्यटन क्षेत्रको सम्भावनालाई उपयोग गर्दै स्थानीय अर्थतन्त्र सुदृढ गरिनेछ। युवालाई स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने वातावरण तयार पार्ने योजना पनि उहाँले सार्वजनिक गर्नुभएको छ। “दिगो विकासका लागि स्थायित्वसहितको नेतृत्व जरुरी छ,” थापाले भन्नुभयो, “मतदाताको साथ र विश्वास पाए क्षेत्र नं. २ लाई उदाहरणीय क्षेत्रका रूपमा उभ्याउने प्रतिबद्धता गर्दछु।”

थापाले शिक्षा, स्वास्थ्य सेवा, सडक सञ्जाल र खानेपानीजस्ता आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट पार्नुभएको छ। यसैक्रममा उहाँले आज रामग्राम नगरपालिकाको घिन्हा र पण्डितपुर क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गर्नुभएको छ।