भैरहवा, फागुन १३ रुपन्देही–३ मा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दो छ। गाउँ–बस्तीमा राजनीतिक बहस तीव्र बन्दै गएको छ भने उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष भेटघाटमा सक्रिय छन्। यही परिवेशमा स्वतन्त्र उम्मेदवार महेन्द्र यादवले घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ। आफ्नो राजनीतिक यात्रा आन्दोलनबाट सुरु भएको उल्लेख गर्दै यादवले २०६३ सालको मधेश आन्दोलनदेखि नै अधिकारका सवालमा सक्रिय भूमिका खेलेको बताउनुहुन्छ।

अब भने सडक संघर्षको अनुभवलाई नीतिगत तहमा रूपान्तरण गर्दै विकास र सुशासनका मुद्दा कार्यान्वयन गर्न संसद् पुग्ने लक्ष्य रहेको उहाँको भनाइ छ। स्वतन्त्र रूपमा उम्मेदवारी दिए पनि जनतासँगको सम्बन्ध निरन्तर रहने उहाँले स्पष्ट पार्नुभएको छ। बुधबार सिद्धार्थनगर नगरपालिका–१० का विभिन्न टोलमा पुग्दा स्थानीयले शिक्षा, स्वास्थ्य, खानेपानी, ढल निकास र सडक पूर्वाधारको कमजोर अवस्थाबारे गुनासा राखेका थिए। कतिपय स्थानमा आधारभूत सेवा अझै व्यवस्थित नभएको भन्दै दीर्घकालीन योजना आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।

यादवले ती समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँको एजेन्डामा विद्यालयको भौतिक पूर्वाधार सुधार, विद्यार्थी स्वास्थ्य परीक्षण व्यवस्था, कृषिमा प्रविधिको प्रयोग र बजार पहुँच विस्तार, उद्योगमार्फत रोजगारी सिर्जना, युवा तथा खेलकुद क्षेत्रको विकास, साथै विपन्न वर्गका लागि सामाजिक सुरक्षाका कार्यक्रम समावेश छन्। यसका अतिरिक्त सडक, पुल, खानेपानी र विद्युत् जस्ता आधारभूत संरचनालाई तीव्रता दिने, स्थानीय तहलाई सशक्त बनाउने र प्रशासनलाई पारदर्शी तथा प्रविधिमैत्री बनाउने योजना पनि अघि सारिएको छ।

यादवले आफू निर्वाचित भए रुपन्देही–३ लाई योजनाबद्ध र पूर्वाधार सम्पन्न क्षेत्रका रूपमा विकास गर्ने अठोट दोहोर्याउनुभएको छ।

