नवलपरासी, फागुन १२ नेपाली कांग्रेस का तर्फबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरी ले आसन्न निर्वाचनमा पार्टीले सय सिट नाघ्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिरहेको बताएका छन्। सोमबार आयोजित बृहत् र्यालीपछि प्रतापपुरको बेलाटारीमा सम्पन्न कोणसभालाई सम्बोधन गर्दै उनले बदलिँदो कांग्रेस स्थिर सरकार गठनको जिम्मेवारी वहन गर्न तयार रहेको उल्लेख गरे। चौधरीले पछिल्लो ३० महिनामा लामो समयदेखि अलपत्र रहेका विकास आयोजनालाई गति दिइएको दाबी गर्दै सबै काम छोटो अवधिमा सम्पन्न हुन नसक्ने भए पनि दीर्घकालीन महत्वका परियोजना अघि बढाइएको बताए।

शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा आधार तयार पारिनुका साथै युवालाई लक्षित गरी सीपमूलक तालिम सञ्चालन गरिएको उनको भनाइ थियो। बर्दघाट नगरपालिका स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास हुँदै गएको उनले उल्लेख गरे। कार्यक्रममा बोल्दै कांग्रेस नेता तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल ले पार्टीभित्र एकता मजबुत बनेकाले आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने दाबी गरे। उनले नयाँ नेतृत्वको दृष्टिकोणलाई कार्यान्वयनमा ल्याउन कांग्रेस उम्मेदवारलाई विजयी गराउन आह्वान गरे। कँडेल केही समय असन्तुष्ट देखिए पनि पार्टीले उनलाई दुवै निर्वाचन क्षेत्रको निर्वाचन कमान्डरको जिम्मेवारी दिएपछि अहिले सक्रिय रूपमा प्रचारमा जुटेका छन्। विगतका मतभेद बिर्सेर संगठनलाई एकताबद्ध बनाउने उनको प्रतिबद्धता छ।
यस्तै, लुम्बिनी प्रदेश सरकारका मन्त्री देवकरण प्रसाद कलवार ले निर्वाचन क्षेत्र नम्बर १ कांग्रेसको मजबुत आधार भएको उल्लेख गर्दै पार्टी एकताबद्ध रहेकाले परिणाम आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे। बर्दघाट नगरपालिका–१४ को चौपत्ताबाट सुरु भएको मोटरसाइकल र्याली भुताहा, भुजहवा र कुडिया हुँदै बेलाटारीमा पुगेर समापन भएको थियो। हजारौँ कार्यकर्ताको सहभागिताले क्षेत्रको चुनावी माहोल थप तातेको आयोजकको दाबी छ।

