नवलपरासी, फागुन ११     नेपाली कांग्रेस का नेता देवेन्द्रराज कँडेल ले नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीको विगतको साख पुनःस्थापित गर्न सबै नेता तथा कार्यकर्ता एकजुट भएर चुनावी अभियानमा जुट्नुपर्ने बताएका छन्। रामग्राम नगरपालिकामा आयोजित घरदैलो कार्यक्रमपछि परासीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले कांग्रेसको हारपछि क्षेत्रीय विकासले अपेक्षित गति लिन नसकेको टिप्पणी गरे।

उनले यस क्षेत्रबाट कांग्रेसले २०५१, २०५६ र २०७४ सालमा जित हासिल गरेको स्मरण गराउँदै समग्र विकासको नेतृत्व कांग्रेसले नै गर्न सक्ने दाबी गरे। उम्मेदवारलाई विजयी बनाउन आधार तहदेखि नै संगठन सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए। कँडेललाई पार्टी केन्द्रीय समितिले जिल्लास्तरीय निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको छ। “पार्टीले नयाँ नेतृत्वलाई अघि बढाउने प्रक्रिया स्वाभाविक हो, त्यसैले वर्तमान उम्मेदवारलाई जिताउन सबै मिलेर लाग्नुपर्छ,” उनले कार्यकर्तालाई आग्रह गरे। प्रचार अभियानका क्रममा यथार्थपरक एजेन्डा मात्र मतदातामाझ लैजान सुझाव दिँदै उनले अधुरा रहेका विकास आयोजना पूरा गर्न पनि कांग्रेसको जित आवश्यक रहेको बताए।

क्षेत्रीय सभापति माधव पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य राधेश्याम पाठक तथा उम्मेदवार भीमबहादुर थापाले समेत मतदाताबीच देखिएको उत्साहले यसपटक पार्टीको परिणाम सकारात्मक आउने विश्वास व्यक्त गरेका थिए।