भैरहवा, फागुन ७    रुपन्देही क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा उम्मेदवार मोहम्मद असलम खानले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। ओमसतिया गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर उनले स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी र आधारभूत पूर्वाधारसँग जोडिएका समस्या सुनेका छन्। स्थानीयवासीले उठाएका विषयलाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै खानले ती मागलाई संघीय संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाए। घरदैलोमार्फत जनताको वास्तविक अवस्था बुझ्न पाएको बताउँदै उनले जनताको आवाज नै आफ्नो राजनीतिक मार्गदर्शन भएको धारणा राखे।

युवाले उठाएका रोजगारी, पारदर्शिता र अवसरसम्बन्धी प्रश्नलाई प्राथमिकतामा राख्ने उनले बताए। सुशासन, भ्रष्टाचार नियन्त्रण र विगतका अनियमिततामाथि निष्पक्ष छानबिन गरिने एजेन्डा पनि उनले अघि सारे। दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याइने उनको भनाइ छ। कृषि सुधारका सन्दर्भमा उनले आधुनिक प्रविधिको प्रयोग, मल–बीउको समयमै उपलब्धता, सिँचाइ विस्तार, ट्युबेल वितरण तथा कृषि बजार र कोल्ड स्टोर निर्माणलाई प्राथमिकता दिने योजना प्रस्तुत गरे। किसानलाई बिचौलियाबाट जोगाउँदै उत्पादनको उचित मूल्य सुनिश्चित गरिने उनले उल्लेख गरे।

स्वास्थ्य र पूर्वाधार विकासतर्फ प्रत्येक पालिकामा सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य सेवा विस्तार, ग्रामीण सडक स्तरोन्नति, स्वच्छ खानेपानी आयोजना र नवीकरणीय ऊर्जामा लगानी गर्ने योजना सार्वजनिक गरिएको छ। साथै, गरिब तथा विपन्न परिवारका लागि सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउन ‘रासन कार्ड’ प्रणाली लागू गर्ने प्रस्ताव पनि उनले राखे। घरदैलो अभियानमार्फत स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै खानले जनताको विश्वास जित्ने र उनीहरूको अपेक्षा सम्बोधन गर्ने लक्ष्यसहित चुनावी अभियान अघि बढाइरहेका छन्।