नवलपरासी, फागुन ७     प्रतिनिधिसभा निर्वाचनको प्रचार अभियानअन्तर्गत घरदैलो कार्यक्रममा व्यस्त नवलपरासी क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापा (भरत) समक्ष स्थानीयवासीले रोजगारीलाई प्रमुख मुद्दाका रूपमा उठाएका छन्। विभिन्न बस्ती तथा साना उद्योग सञ्चालन भइरहेका स्थानमा पुगेका थापासँग मजदुर, युवा तथा महिला उद्यमीहरूले गाउँमै कामको अवसर विस्तार गर्न माग गरेका हुन्। मतदाताहरूले सीप र क्षमता हुँदाहुँदै पनि पर्याप्त अवसर नपाउँदा बेरोजगार बस्नुपरेको गुनासो गरे। युवाहरू वैदेशिक रोजगारीतर्फ पलायन हुन बाध्य भइरहेको उल्लेख गर्दै उनीहरूले स्थानीय स्तरमै साना तथा मझौला उद्योग स्थापना, सीपमूलक तालिमको व्यवस्था र उत्पादित वस्तुको बजार सुनिश्चित गर्न पहल आवश्यक रहेको बताएका छन्।

स्थानीय मजदुरहरूले “काम गर्ने जनशक्ति गाउँमै छ, तर उद्योग र अवसर अभाव छ” भन्दै उत्पादनमुखी वातावरण तयार गर्न आग्रह गरे। महिला उद्यमीहरूले भने घरेलु उद्योग विस्तारका लागि सहुलियत ऋण, प्राविधिक तालिम र बजारीकरण सहयोग अपरिहार्य रहेको धारणा राखे। जनताको सुझाव सुनेपछि थापाले आफू सुनवल नगरपालिकाको प्रमुख र उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा सीपलाई उद्यमसँग जोड्ने प्रयास गरेको स्मरण गराउँदै आगामी कार्यकालमा रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय स्रोत, साधनको अधिकतम उपयोग, उद्यमशीलता प्रवर्द्धन र युवालाई स्वदेशमै अवसर उपलब्ध गराउने लक्ष्यसहित अघि बढ्ने उनको भनाइ छ। गाउँमै आत्मनिर्भर आर्थिक गतिविधि विस्तार गरेर युवालाई स्वदेशमै भविष्य देखाउने वातावरण निर्माण गर्ने आफ्नो उद्देश्य रहेको थापाले दोहोर्‍याए।