बुटवल, फाल्गुन ४    निर्वाचन आयोगको समयतालिका अनुसार आज फाल्गुन ४ गतेदेखि उम्मेदवारहरूले पम्प्लेटसहित निर्वाचन आचारसंहितालाई पूर्ण रूपमा पालना गर्दै घरदैलो अभियान तथा मतदाता भेटघाट सुरु गरेका छन्। निर्वाचन आयोग नेपाल ले तोकेको कार्यतालिका अनुसार औपचारिक प्रचारप्रसार प्रारम्भ भएसँगै विभिन्न दल तथा उम्मेदवारहरू जनतासमक्ष आफ्ना एजेण्डा र योजना प्रस्तुत गर्न सक्रिय बनेका छन्। यससँगै देशभर चुनावी माहोल थप तातिएको छ भने स्थानीय तहदेखि केन्द्रसम्म राजनीतिक गतिविधि तीव्र बन्दै गएको देखिएको छ।

यसै प्रचारप्रसारको क्रममा नागरिक उन्मुक्ति पार्टी नेपाल की समानुपातिकतर्फकी उम्मेदवार किरन गुप्ता ले बुटवल, रुपन्देही क्षेत्र नं. २ बाट आफ्नो घरदैलो अभियान औपचारिक रूपमा सुरु गर्नुभएको छ। अभियानको सुरुवातसँगै उहाँले बुटवल उपमहानगरपालिकाका वडा नं. १, ४ र ५ का विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्नुभएको छ। उहाँले मतदातासँग कुराकानी गर्दै विकास, सुशासन, रोजगारी सिर्जना, महिला सशक्तीकरण तथा स्थानीय आवश्यकतामा आधारित योजना कार्यान्वयनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। घरदैलो अभियानका क्रममा स्थानीय नागरिकहरूले समेत आफ्ना समस्या, अपेक्षा र सुझाव राखेका थिए। मतदाताको प्रतिक्रिया सकारात्मक रहेको दाबी गर्दै उम्मेदवार गुप्ताले जनताको विश्वास जितेर परिवर्तनको नेतृत्व गर्ने विश्वास व्यक्त गर्नुभयो। चुनावी प्रचार सुरु भएसँगै क्षेत्र नं. २ मा विभिन्न दलका उम्मेदवारहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। प्रचारप्रसार अवधिभर आचारसंहिता उल्लङ्घन नगरी शान्तिपूर्ण वातावरणमा चुनावी गतिविधि सञ्चालन गर्न सबै पक्षलाई आयोगले निर्देशन दिइरहेको छ। आगामी मतदान नजिकिँदै जाँदा उम्मेदवारहरूको घरदैलो कार्यक्रम, सभा, अन्तरक्रिया तथा मतदाता भेटघाट अझ सक्रिय हुने अपेक्षा गरिएको छ।