भैरहवा, माघ २९  रुपन्देही जिल्लाका स्थानीय तहहरूमध्ये सिद्धार्थनगर नगरपालिका कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा अगाडि देखिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार नगरपालिकाले ६८.४६ अंक प्राप्त गर्दै जिल्लाको शीर्ष स्थान हासिल गरेको हो।

प्रकाशित विवरणमा तिलोत्तमा नगरपालिका ६६.५४ अंकसहित दोस्रो स्थानमा रहेको छ भने कञ्चन गाउँपालिका ६४.५५ अंक प्राप्त गरी तेस्रो स्थानमा परेको उल्लेख छ।

आयोगले देशभरका स्थानीय तहहरूको कामकारबाहीलाई विभिन्न वित्तीय र प्रशासनिक आधारमा मूल्यांकन गरेको जनाएको छ। समयमै बजेट घोषणा तथा पारित गरिएको अवस्था, आर्थिक वर्ष २०८१/८२ का राजस्व संकलन तथा प्रदेश सरकारलाई बुझाउनुपर्ने हिस्साको नियमित निकासा जस्ता विषयलाई प्रमुख मापदण्डका रूपमा लिइएको थियो।

यस उपलब्धिले सिद्धार्थनगर नगरपालिकाले वित्तीय व्यवस्थापनमा देखाएको अनुशासन, पारदर्शिता तथा कानुनी दायित्वप्रतिको जवाफदेहिता उजागर गरेको छ। स्थानीय तहहरूमाझ यो नतिजा उदाहरणीय मानिएको छ।