भैरहवा, चैत ५
सियारी गाउँपालिका–२ चंठा स्थित दुर्गा मोडेल एकेडेमी मा कक्षा १० का विद्यार्थीहरूलाई लक्षित गर्दै बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ। कक्षा ९ का विद्यार्थीहरूको आयोजनामा बुधबार सम्पन्न उक्त कार्यक्रम आत्मीय वातावरणमा सम्पन्न भएको हो। कार्यक्रम कक्षा ९ की विद्यार्थी माया बरइको अध्यक्षतामा तथा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुधिर पौडेलको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले अनुशासन, निरन्तर परिश्रम र सकारात्मक सोचले मात्र जीवनमा सफलता प्राप्त गर्न सकिने बताउँदै विद्यार्थीहरूलाई आगामी एसईई परीक्षामा आत्मविश्वासका साथ सहभागी हुन आग्रह गर्नुभयो। उहाँले विद्यालयबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक सुरेश कुमार बरइले विद्यार्थीहरूलाई लक्ष्यप्रति दृढ रहन र चुनौतीलाई अवसरका रूपमा लिन प्रेरित गर्नुभयो। उहाँले विद्यालयले सधैं आफ्ना विद्यार्थीहरूको प्रगतिमा गर्व गर्ने उल्लेख गर्दै बिदाइलाई नयाँ यात्राको सुरुवातको रूपमा लिन सुझाव दिनुभयो। साथै, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरूप नगद २५ हजार रुपैयाँसहित सम्मान गर्ने प्रतिबद्धता निरन्तर रहने जानकारी दिनुभयो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण बरइले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सहकार्य र सिर्जनशीलता विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो। लेखा शिक्षक केशव यादवले अनुशासन, सकारात्मक सोच र निरन्तर प्रयास सफलताको मुख्य आधार भएको बताउँदै विद्यार्थीहरूलाई हिम्मत नहार्न आग्रह गर्नुभयो।

कार्यक्रममा शिक्षक मदन बरइले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन शिक्षक प्रदिप कुमार सक्सेनाले गर्नुभएको थियो। उक्त अवसरमा कक्षा १० का विद्यार्थीका अभिभावकहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो। अभिभावकहरूले विद्यालयले शिक्षासँगै संस्कार र आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै खुशी व्यक्त गरेका थिए।

विद्यार्थीहरूले विद्यालयसँग बिताएका क्षणहरू अविस्मरणीय रहने उल्लेख गर्दै शिक्षक तथा साथीहरूप्रति आभार व्यक्त गरेका थिए। कार्यक्रममा प्रस्तुत नृत्य, गीत र नाटकले थप आकर्षण थपेको थियो। कक्षा ९ का विद्यार्थीहरूको सक्रियतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।