फाल्गुन २३     रुपन्देही–४ मा रास्वपाको उदय: कन्हैया बनियाँ ७,८०४ मतले विजयी निर्वाचन २०८२ अन्तर्गत रुपन्देही जिल्ला क्षेत्र नम्बर ४ मा मुख्य राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको रोचक प्रतिस्पर्धा अन्ततः रास्वपाका उम्मेदवार कन्हैया बनियाँ को जितमा टुंगिएको छ। अन्तिम मतपरिणामअनुसार कन्हैया बनियाँले २८,०६६ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी प्रमोद कुमार यादव लाई ७,८०४ मतको फराकिलो अन्तरले पराजित गरेका छन्। एमालेका यादवले २०,२६२ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका छन्।

त्यस्तै पहिलो पटक नेपाली कांग्रेसबाट टिकट पाएका युवा नेता आशुतोष मिश्रा ले १५,८९१ मतसहित तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ। मर्चवार क्षेत्रका प्रभावशाली नेता तथा पटक–पटक यही क्षेत्रबाट निर्वाचित भई मन्त्रीसमेत बनिसकेका सर्वेन्द्रनाथ शुक्ला यसपटक भने अपेक्षाविपरीत कमजोर प्रदर्शन गर्दै ३,१४० मतमा सीमित भएका छन्। त्यस्तै जनमत पार्टी का उम्मेदवार भोपेन्द्र यादव ले २,०७७ मत प्राप्त गरेका छन्। रुपन्देही–४ को राजनीतिक इतिहासमा यसपटकको परिणामलाई अर्थपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। यसअघि कन्हैया बनियाँ ले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट प्रदेश सभामा विजय हासिल गरेका थिए। प्रदेशस्तरमा रहँदा उनले जनतामाझ घुलमिल हुने शैली, सक्रियता र विकासका मुद्दामा देखाएको चासोका कारण मर्चवार क्षेत्रमा लोकप्रिय युवा नेताका रूपमा आफूलाई स्थापित गर्न सफल भएका थिए। स्थानीय मतदातासँगको नजिकको सम्बन्ध र निरन्तर सक्रियताकै परिणामस्वरूप यसपटक संघीय संसदमा पनि उनले उल्लेखनीय सफलता हात पारेको विश्लेषण गरिएको छ। परम्परागत राजनीतिक प्रभाव रहेको मानिने मर्चवार क्षेत्रमा नयाँ राजनीतिक शक्तिको उदय भएको भन्दै यो नतिजाले स्थानीय राजनीतिक समीकरणलाई नयाँ मोड दिएको टिप्पणी गरिएको छ।
रुपन्देही क्षेत्र नं. ४ को अन्तिम मत परिणाम:
रास्वपा – कन्हैया बनियाँ: २८,०६६
एमाले – प्रमोद कुमार यादव: २०,२६२
नेपाली कांग्रेस – आशुतोष मिश्रा: १५,८९१
जसपा नेपाल – सर्वेन्द्रनाथ शुक्ला: ३,१४०
जनमत – भोपेन्द्र यादव: २,०७७
यस परिणामसँगै रुपन्देही–४ मा रास्वपाको प्रभाव मजबुत बनेको विश्लेषकहरूको भनाइ छ भने पुराना राजनीतिक गढहरूमा नयाँ शक्ति उदाएको संकेतसमेत देखिएको छ।