काठमाडौँ, फागुन २० परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमार्फत खाडी क्षेत्रमा रहेका नेपालीलाई आफ्नो विवरण दर्ता गर्न अनुरोध गरिएको छ। मध्यपूर्वमा विकसित समसामयिक अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले उक्त पहल सुरु गरेको जनाएको छ। नेपाली दूतावास रियाद ले सूचना जारी गर्दै त्यहाँ कार्यरत तथा बसोबास गर्दै आएका नेपाली नागरिकलाई अनिवार्य रूपमा विवरण भर्न आग्रह गरेको छ। दूतावासका अनुसार सम्भावित आपत्कालीन अवस्था, नागरिकको अवस्थाबारे तथ्यांक संकलन तथा आवश्यक सहजीकरणका लागि पोर्टल सञ्चालनमा ल्याइएको हो।
मन्त्रालयद्वारा तयार पारिएको प्रणालीमार्फत विशेष गरी साउदी अरब र यमन मा रहेका नेपालीहरूको विवरण संकलन गरिनेछ। यसबाट दूतावासलाई आवश्यक परेमा उद्धार, परामर्श तथा समन्वयमा सहजता हुने विश्वास गरिएको छ। यसैबीच, विभिन्न राजनीतिक दल निकट प्रवासी संगठनहरूले पनि आवश्यक परामर्श र सहयोगका लागि सम्पर्क व्यक्तिहरू तोकेको जानकारी दिएका छन्। मन्त्रालयले सम्बन्धित सबैलाई यथाशीघ्र विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ।

