भैरहवा, फागुन १८     निर्वाचन आयोग, नेपालले प्रतिनिधि सभा उपनिर्वाचन २०८२ को सन्दर्भमा आचारसंहिता कडाइका साथ पालना गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। आयोगका तर्फबाट जारी सूचनाअनुसार फागुन १९ गते राति १२:०० बजेदेखि मौन अवधि सुरु हुने भएकाले त्यसपछिका गतिविधि आचारसंहिता अनुरूप हुनुपर्ने उल्लेख गरिएको छ। सूचनामा निर्वाचन प्रचार–प्रसारसँग सम्बन्धित कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला वा गोष्ठी आयोजना गर्न नपाइने स्पष्ट गरिएको छ। साथै मतदान हुने दिनभन्दा ४८ घण्टा अघि मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था पनि गरिएको छ।

आयोगले कुनै पनि विधि, प्रक्रिया वा माध्यम प्रयोग गरी मत माग्ने तथा प्रचार–प्रसार गर्ने कार्य मौन अवधिमा निषेध हुने जनाएको छ। सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य सञ्चार माध्यमबाट राजनीतिक दल वा उम्मेदवारका पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया दिनसमेत नपाइने सूचनामा उल्लेख छ। निर्वाचन आचारसंहिता अनुगमन अधिकृतमार्फत जारी गरिएको उक्त सूचनामा मौन अवधिको पूर्ण पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र मतदातालाई अनुरोध गरिएको छ। उपनिर्वाचन नजिकिँदै गर्दा आयोगले स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आचारसंहिताको कडाइका साथ कार्यान्वयन गरिने जनाएको छ।