देवदह, फागुन १७ प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा देवदह क्षेत्रमा युवा नेता प्रज्जवल बोहरा प्रति समर्थन बढ्दो देखिएको छ। विभिन्न दलसँग आबद्ध ६५ जना स्थानीय नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्।

प्रवेश कार्यक्रममा सहभागीहरूले राष्ट्रको भविष्य र पहिचान जोगाउन आफ्नो मत निर्णायक हुने धारणा व्यक्त गरे। उनीहरूले राष्ट्रवाद र परम्परागत मूल्य–मान्यताको संरक्षणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँदै बोहराको नेतृत्वमा देवदह तथा रुपन्देही क्षेत्रको विकास सम्भव हुने विश्वास व्यक्त गरेका थिए। राजनीतिक विश्लेषकहरूका अनुसार यो घटनाक्रमले क्षेत्रीय राजनीतिक समीकरणमा प्रभाव पार्नुका साथै युवा नेतृत्वप्रति बढ्दो आकर्षणको संकेत गरेको छ। कार्यक्रममा बोल्दै बोहराले नयाँ सदस्यहरूलाई स्वागत गर्दै जनताको अपेक्षा अनुरूप पारदर्शी र परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले साथ र विश्वासका लागि धन्यवाद दिँदै समृद्ध देवदह निर्माण आफ्नो प्रमुख लक्ष्य रहेको उल्लेख गर्नुभयो।

