भैरहवा, फागुन १५ रुपन्देही–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. लेखजंग थापाले “जनताको भरोसा नै मेरो आधार” भन्ने नारासहित चुनावी गतिविधिलाई तीव्र बनाउनु भएको छ। घरदैलो तथा जनभेटघाट कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष छलफल गर्दै उहाँले जनसमर्थन नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताउनुभयो। थापाले सडक विस्तार, सिँचाइ सुविधा, शिक्षा र स्वास्थ्य सेवा सुदृढीकरण, रोजगारी सिर्जना तथा सीमावर्ती व्यापार व्यवस्थापनलाई प्राथमिक एजेन्डाका रूपमा अघि सार्नुभएको छ। विकासका योजना घोषणामै सीमित नभई व्यवहारमा लागू हुनुपर्नेमा जोड दिँदै उहाँले पारदर्शिता र जवाफदेहितासहितको नेतृत्व आवश्यक रहेको धारणा राख्नुभयो।
उहाँका अनुसार रुपन्देही–३ लाई व्यवस्थित, अवसरसम्पन्न र आर्थिक रूपमा सबल क्षेत्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ। घरदैलोका क्रममा स्थानीयले उठाएका कृषि मलको उपलब्धता, युवालाई स्वदेशमै रोजगारी, बजार व्यवस्थापन र पूर्वाधार सुधारका विषयलाई प्राथमिकताका साथ सम्बोधन गरिने उहाँको भनाइ छ। आगामी निर्वाचनमा जनताको विश्वास र साथ प्राप्त हुनेमा आफू आशावादी रहेको थापाले उल्लेख गर्नुभएको छ।

