काठमाडौँ, फागुन १२ आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले तीन दिन सार्वजनिक बिदा घोषणा गरेको छ। आज सिंहदरबारमा सम्पन्न मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते देशभर बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगको सिफारिसका आधारमा उक्त निर्णय गरिएको जानकारी दिनुभयो। त्यसैगरी, बैठकले जेन–जी परिषद् गठन गर्ने निर्णय पनि गरेको छ।
नवयुवा आन्दोलनको समर्थनमा बनेको वर्तमान सरकारमाथि युवाका माग सम्बोधन गर्न प्रभावकारी कदम चाल्न नसकेको आरोप लागिरहेकाले परिषद् गठनलाई त्यसतर्फको पहलका रूपमा हेरिएको छ।
मन्त्रिपरिषद्ले चीन सरकारबाट प्राप्त हुने ४० लाख अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णयसमेत गरेको छ। साथै, बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय संरचना स्वीकृत गरिएको छ भने बीमा ऐन २०७९ को दफा १४० अन्तर्गतका कसुरसम्बन्धी मुद्दाको सुनुवाइ तथा किनारा गर्ने अधिकार जिल्ला अदालतलाई प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।

