मर्चवार, फागुन ११ रुपन्देही क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सर्बेन्द्र नाथ शुक्ला को समर्थनमा मर्चवार क्षेत्रमा उल्लेखनीय जनसक्रियता देखिएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा कोटहीमाई गाउँपालिका मा आयोजित आमसभा तथा भेटघाट कार्यक्रममा स्थानीयको उत्साहजनक उपस्थिति रहेको थियो।

मर्चवारीमाई गाउँपालिका, कोटहीमाई र सम्मरीमाई गाउँपालिका लगायतका स्थानमा पुगेर शुक्लाले कृषि, सिँचाइ, सडक सञ्जाल, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने अठोट व्यक्त गर्नुभयो। मर्चवारका उर्वर जमिनमा आधुनिक सिँचाइ विस्तार, साना कृषकलाई सहुलियत कर्जा उपलब्ध गराउने र कृषि उपजको बजार सुनिश्चित गर्ने योजना उहाँले सार्वजनिक गर्नुभएको छ। घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले विगतमा गरिएका प्रतिबद्धता पूरा नभएको र विकास आयोजनामा ढिलासुस्ती भएको गुनासो राखेका थिए। जवाफमा शुक्लाले पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राखेर काम गर्ने, विकास आयोजना जनताको निगरानीमै अघि बढाउने तथा युवाका लागि रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो।
कार्यक्रममा सहभागी स्थानीय अगुवा तथा युवाहरूले परिवर्तनको आवश्यकता औंल्याउँदै शुक्लाको समर्थनमा नाराबाजीसमेत गरेका थिए। चुनावी माहोल तातेका बेला मर्चवार क्षेत्रमा देखिएको सक्रिय सहभागिताले उहाँको पक्षमा वातावरण अनुकूल बन्दै गएको समर्थकहरूको भनाइ छ।

