भैरहवा, फागुन ११    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता गौरव बोहराले आफ्नो चुनावी अभियानलाई तीव्रता दिँदै शुद्धोधन गाउँपालिका का वडा नं. २, ३ र ४ मा र्‍यालीसहित घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। उक्त कार्यक्रममा सयौँ समर्थक तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूको उत्साहजनक उपस्थितिले क्षेत्रमा राप्रपाप्रतिको आकर्षण बढ्दो रहेको संकेत गरेको आयोजकले जनाएको छ।

घरदैलो अभियानका क्रममा बोहराले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले भोगिरहेका समस्या र अपेक्षाबारे जानकारी लिनुभयो। उहाँले क्षेत्रको समग्र विकास, सुशासन र जनसेवामा आफू पूर्ण रूपमा प्रतिबद्ध रहने बताउनुभयो। स्थानीय आमाबुवा तथा युवाहरूले बोहरालाई स्वागत गर्दै नयाँ नेतृत्वप्रति आशा व्यक्त गरेका थिए। रुपन्देही–३ मा बढ्दो चुनावी गतिविधिबीच बोहराको सक्रियता र जनसम्पर्कले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।