काठमाडौँ, माघ २९ आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ५३ जिल्लाका १ सय १७ निर्वाचन क्षेत्रका लागि १ करोड ५३ लाखभन्दा बढी मतपत्र छापिसकिएको छ।
आयोगका सह–प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिएअनुसार हिजो मात्र ६ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो। प्रत्यक्षतर्फको निर्वाचनका लागि कुल २ करोड ३ लाख २३ हजार मतपत्र छाप्ने लक्ष्य आयोगले लिएको छ। अहिले दैनिक करिब १५ लाखसम्म मतपत्र छापिने कार्य भइरहेको आयोगले जनाएको छ।
आयोगले आजसम्म सम्पूर्ण मतपत्र छपाइ सम्पन्न गरी सम्बन्धित जिल्लामा पठाउने तयारी गरेको छ। हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ र सङ्खुवासभामा मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
त्यसैगरी सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम (पूर्व), दाङ, बाँके, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्युठान, रुपन्देही र रोल्पा गरी कुल ५३ जिल्लाको मतपत्र छपाइ कार्य पूरा भएको आयोगले जनाएको छ।

