नवलपरासी, माघ २८ आगो लगाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अदालत नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) ले २०६७ मंसिर ९ गतेको फैसलामार्फत १८ वर्ष कैद सजाय सुनाएका नवलपरासी (पश्चिम) सुनवल नगरपालिका–१, सोमनाथ टोलका ५५ वर्षीय दलबहादुर चौधरी हालसम्म फरार रहेका थिए।

इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले विशेष खोजी अभियानका क्रममा २०८२ माघ २७ गते उनलाई आफ्नै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।पक्राउ परेका चौधरीलाई २०८२ माघ २८ गते जिल्ला अदालत नवलपरासी (पश्चिम) मा उपस्थित गराइएको थियो। अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।