चैत २
निर्वाचन आयोग नेपाल मा प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरूको नामावली तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गरेका ६ राजनीतिक दलले बुझाएका छन्। दलहरूले यसअघि पेश गरिएको बन्दसूची र तोकिएको क्लस्टरअनुसार प्रतिनिधित्व मिलाएर नाम पठाएको जनाइएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार दलहरूबाट प्राप्त नामावली क्लस्टरअनुसार मिलेको अवस्थामा आयोगले सार्वजनिक गर्नेछ। यदि सूची तोकिएको मापदण्डअनुसार नमिलेको खण्डमा सम्बन्धित दललाई सच्याउन समय प्रदान गरिनेछ। समानुपातिकतर्फ १६ सिट पाएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भने आफ्ना सांसदहरूको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी ले पनि आज बसेको सचिवालय बैठकमार्फत समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। पार्टीका प्रवक्ता मनिष झाले ४८ जना महिला र ९ जना पुरुषको नाम आयोगमा बुझाइएको जानकारी दिनुभयो भने औपचारिक सूची आयोगले नै सार्वजनिक गर्ने बताइएको छ।

त्यसैगरी २० सिट प्राप्त गरेको नेपाली कांग्रेस ले पनि समानुपातिक सांसदको नामावली तयार गरी आयोगमा बुझाएको छ। कांग्रेसले १५ जना महिलासहित २० जनाको नाम सिफारिस गरेको र औपचारिक सूची आयोगबाट सार्वजनिक हुने प्रवक्ता देवराज चालिसेले बताएका छन्। यस्तै ९ सिट पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रमेश हमाल, परशुराम तामाङ, भीमकुमार बुढा, प्रेम बयक, जोगकुमार बर्बरिया यादव, पार्वती बिक, गणेश विश्वकर्मा र निराशा चौधरी डगौराको नाम पठाएको जनाएको छ। ४ सिट प्राप्त गरेको श्रम संस्कृती पार्टी ले पूर्णप्रसाद लिम्बू, अम्बिकादेवी सङ्ग्रौला, राधिका रम्तेल र रुवीकुमारी ठाकुरलाई समानुपातिक सांसदका लागि सिफारिस गरेको छ। यसैगरी ४ सिट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी ले भरत गिरी, ताहिर अली, खुस्बु ओली र सरस्वती लामाको नाम आयोगमा बुझाएको छ। दलहरूले पेश गरेको नामावली क्लस्टरअनुसार ठीक भएमा आयोगले छिट्टै औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ।