नवलपरासी, चैत १
रिंगला यादव लाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभा को समानुपातिकतर्फ सांसद बनाउन सिफारिस गरेको छ। पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभाका लागि १६ जना समानुपातिक सांसदको नाम टुंग्याउने क्रममा यादवको नाम पनि समावेश गरेको हो
मधेसी महिलातर्फ पहिलो नम्बरमा प्रस्ताव गरिएको कारण यादव अब प्रतिनिधिसभाको सदस्य बन्ने लगभग निश्चित भएको बताइएको छ। उनी पाल्हीनन्दन गाउँपालिका–६ सनई, नवलपरासी की स्थायी बासिन्दा हुन् पार्टीले समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै विभिन्न समुदायबाट समानुपातिक सांसद चयन गरेको जनाएको छ। जनजाति समूहबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्यलाई सूचीमा राखिएको छ। त्यसैगरी खस–आर्य समुदायबाट पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदाकुमारी बराल (पिछडिएको क्षेत्र), गुरुप्रसाद बराल तथा पुष्पराज कंडेल चयन भएका छन्।

थारु समुदायबाट कृपाराम राना, दलित समुदायबाट विष्णुमाया बिके र नीता घतानीलाई समानुपातिक सूचीमा समेटिएको छ। मधेसी समुदायतर्फ महिलाबाट रिंगला यादवसँगै यशोधाकुमारी यादव र पुरुषतर्फ चन्द्रेश्वर मण्डलको नाम सिफारिस गरिएको छ। यसैगरी मुस्लिम समुदायबाट महिलातर्फ साजिदा सिद्दीकीलाई पनि समानुपातिक सांसदको सूचीमा राखिएको पार्टीले जनाएको छ।