भैरहवा, चैत १
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ ले जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसँग उद्योग–व्यापारको सुरक्षा, तस्करी रोकथाम तथा व्यापार प्रवर्द्धनसम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। आइतबार सङ्घको सभाहलमा आयोजित कार्यक्रममा सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी, उद्योग–व्यवसायको सुरक्षास्थिति, ट्राफिक व्यवस्थापन तथा व्यापार सहजीकरणबारे उद्योगी–व्यवसायी र सुरक्षाकर्मीबीच छलफल गरिएको थियो। कार्यक्रमको सुरुवातमा सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले वैध व्यवसाय सञ्चालन गर्ने उद्यमीलाई सुरक्षा निकायबाट आवश्यक सहयोग हुनुपर्ने र अवैध कारोबारमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा राख्नुभयो। उहाँले सीमाक्षेत्रमा तस्करीका गतिविधि बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न सुरक्षाकर्मीको सक्रियता आवश्यक रहेको बताउनुभयो। साथै, व्यापारिक वातावरण सुरक्षित बनाउन प्रहरी प्रशासनले थप पहल गर्नुपर्ने उहाँको भनाइ थियो।

अध्यक्ष आचार्यले गलामण्डीलगायत केही स्थानमा अस्थायी प्रहरी पोस्ट हटाइएपछि सुरक्षामा समस्या देखिएको उल्लेख गर्दै ती स्थानमा पुनः प्रहरी पोस्ट सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले औद्योगिक क्षेत्र र व्यवसायको सुरक्षामा सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँका अनुसार सुरक्षा व्यवस्था बलियो भए अवैध गतिविधि स्वतः घट्ने र उद्योगी–व्यवसायीको आत्मविश्वास पनि बढ्नेछ। उहाँले देश आर्थिक र राजनीतिक चुनौतीबीच गुज्रिरहेको उल्लेख गर्दै आन्दोलन तथा अस्थिरताले उद्योग–व्यवसायमा असर परेको बताउनुभयो। यस्तो अवस्थामा व्यवसायिक वातावरण सुधार गर्न सरकारी निकाय र सुरक्षाकर्मीको सहयोग आवश्यक रहेको उहाँको धारणा थियो। महासङ्घका केन्द्रीय सदस्य भीष्मप्रसाद न्यौपानेले सीमाक्षेत्रमा लागूऔषध नियन्त्रणमा प्रहरीले देखाएको सक्रियताको प्रशंसा गर्दै तस्करी नियन्त्रणमा पनि त्यत्तिकै कडाइ गर्नुपर्ने सुझाव दिनुभयो।

सङ्घका पूर्वअध्यक्ष तथा महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले सामाजिक क्षेत्रसँग सहकार्य गर्दै उद्योग–व्यवसायको हितमा प्रहरी प्रशासनले अझ सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो। त्यसैगरी सङ्घका निवर्तमान अध्यक्ष तथा युवा व्यवसायी ठाकुरकुमार श्रेष्ठले प्रहरी प्रशासनले निष्पक्ष ढंगले जिम्मेवारी निर्वाह गरे व्यवसायिक वातावरण सुधार हुने धारणा व्यक्त गर्नुभयो। सङ्घका सल्लाहकार विष्णुप्रसाद शर्माले सुरक्षा व्यवस्थालाई आधुनिक डिजिटल प्रविधिसँग जोड्न सके अपराध नियन्त्रणमा थप प्रभावकारी हुने बताए। कार्यक्रममा लुम्बिनी प्रेस क्लब का अध्यक्ष कमल रायमाझीले सुरक्षाकर्मीले सकारात्मक सोचका साथ कानुनको दायरामा रहेर काम गरे उद्योगी–व्यवसायी सन्तुष्ट रहने उल्लेख गर्नुभयो।
वरिष्ठ अधिवक्ता शिव पौडेलले रूपन्देहीमा ट्राफिक व्यवस्थापन कमजोर देखिएको भन्दै त्यसलाई सुधार गर्न प्रहरी प्रशासनले ध्यान दिनुपर्ने सुझाव दिनुभयो। पेट्रोलियम व्यवसायी राजु पौडेलले इन्धन वितरणका क्रममा किसानलाई डिजेल ग्यालेन वा ट्याङ्कीमा लैजान कठिनाइ हुने गरेको गुनासो गर्दै सहज व्यवस्था मिलाउन आग्रह गर्नुभयो।

व्यवसायी गंगाराम पराजुलीले सीमावर्ती क्षेत्रमा अझै पनि तस्करी भइरहेकाले मोटरसाइकलमार्फत चिनी, किराना तथा खाद्यान्न सामग्री भित्रिने क्रम रोक्नुपर्ने बताए। सरफ व्यवसायी पशुपति काण्डुले खुला सीमाका कारण स्थानीय व्यापार प्रभावित भएको भन्दै भारत बाट हुने अवैध कारोबार नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै, नेपाल–भारत मैत्री सङ्घका अध्यक्ष श्रीचन्द गुप्ताले सीमाक्षेत्रमा रहेको एकीकृत सुरक्षा चेकपोस्टलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने बताए। सुनचाँदी व्यवसायी सङ्घ सिद्धार्थनगरका अध्यक्ष राजन बिकले व्यवसायीमाथि अनावश्यक कारबाही नगरी अनुसन्धानपछि मात्र कानुनी प्रक्रिया अघि बढाउनुपर्ने धारणा राख्नुभयो। मोबाइल व्यवसायी हरिश सेठियाले तेस्रो मुलुकबाट भारत हुँदै आउने केही सामग्री खुला सीमाको फाइदा उठाउँदै नेपालमा अवैध रूपमा भित्रिने गरेको भन्दै त्यसको निगरानी कडा बनाउन आग्रह गर्नुभयो। किराना तथा प्लास्टिक व्यवसाय सङ्घका सचिव झपेन्द्रप्रसाद बेलबासेले तस्करीका कारण स्थानीय व्यवसाय प्रभावित भएकाले नियन्त्रणमा थप पहल गर्नुपर्ने बताए।

होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष राजेश महोत्राले पर्यटन प्रवर्द्धनका लागि उद्योगी–व्यवसायी, सुरक्षाकर्मी र पर्यटन क्षेत्रका सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए। कार्यक्रममा उठेका विषयमाथि प्रतिक्रिया दिँदै सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वार्टर रूपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहराले तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले निरन्तर सक्रियता देखाउँदै आएको बताउनुभयो। उहाँले तस्करी भएर आएका सामग्री कसले खरिद गरी बजारमा बिक्री गर्छ भन्ने विषय पनि गम्भीर रहेको भन्दै त्यसतर्फ व्यवसायीले पनि सजग हुनुपर्ने बताए। त्यसैगरी नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय रूपन्देही का प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले उद्योगी–व्यवसायीका समस्या समाधानका लागि प्रहरी प्रशासन सधैँ सहकार्य गर्न तयार रहेको बताए। उहाँले कानुन विपरीत काम गर्नेहरूमाथि भने कडाइका साथ कारबाही हुने स्पष्ट पार्नुभयो।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका महासचिव कृष्णप्रसाद घिमिरेले सञ्चालन गरेको कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष दिलिप काण्डुले समापन मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा उद्योगी–व्यवसायी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।