रुपन्देही, फागुन २१ रुपन्देही जिल्लामा आज बिहान ७ बजेदेखि मतदान शान्तिपूर्ण रूपमा सुरु भएको छ। जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा मतदाताहरू उत्साहका साथ उपस्थित भई अनुशासित ढंगले मतदान गरिरहेका छन्। प्रारम्भिक विवरणअनुसार मतदान सुरु भएको करिब पाँच घण्टाभित्र झण्डै २७ प्रतिशत मत खसेको जानकारी प्राप्त भएको छ। जिल्लाका अधिकांश मतदान केन्द्रहरूमा मतदाताको उपस्थिती उल्लेख्य देखिएको छ। युवा, महिला तथा ज्येष्ठ नागरिक समेत बिहानैदेखि आफ्नो मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरिरहेका छन्। कतिपय स्थानमा मतदाताको लाइन समेत देखिएको छ। 
यस पटकको निर्वाचन विशेष रूपमा चासोका साथ हेरिएको छ। जेन–जी आन्दोलन पछि राजनीतिक परिस्थितिमा आएको परिवर्तनका कारण २०८४ मा हुने तय भएको चुनाव अगावै २०८२ मै सम्पन्न भइरहेको हो। मतदान केन्द्रमा पुगेका मतदाताहरूले जेन–जी आन्दोलनका क्रममा उठाइएका मुद्दाहरू अब बन्ने नयाँ सरकारले कत्तिको सम्बोधन गर्छ भन्ने कुरा महत्वपूर्ण हुने बताएका छन्। उनीहरूले परिवर्तनको अपेक्षा राख्दै नयाँ सरकारबाट युवाको रोजगारी, सुशासन र विकासका एजेन्डा सम्बोधन हुने आश व्यक्त गरेका छन्। निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा निकायको उपस्थिति पनि सबै मतदान केन्द्रमा देखिएको छ। जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी रहेको जनाइएको छ।


