मर्चवार, फागुन १७ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कन्हैया बनिया युवा राजनीतिकर्मी र व्यवसायीका रूपमा परिचित हुनुहुन्छ। २०७९ मा लुम्बिनी प्रदेशसभा निर्वाचनमा विजयी भइसकेका बनियाले यसपटक रुपन्देही–४ क्षेत्रलाई समग्र विकासको मार्गमा अघि बढाउने योजना लिएर चुनावी मैदानमा प्रवेश गर्नुभएको छ। उहाँको विकास भिजन शिक्षा, कृषि, सडक–यातायात, स्वास्थ्य, रोजगार, महिला सशक्तीकरण लगायतका सबै महत्वपूर्ण पक्ष समेटिएको छ। एमएमसम्मको अध्ययन हासिल गर्नुभएको बनियाले आफ्नो अनुभव र पेशागत ज्ञान प्रयोग गरी स्वरोजगार र रोजगारीमूलक व्यवसाय, स्थानीय उद्योग र कृषिमा प्रविधिको प्रयोगमार्फत समुदायको जीवनस्तर उकास्ने लक्ष्य राख्नुभएको छ।

उहाँले भन्नुभयो, “स्थानीय स्रोतमा आधारित साना र मझौला उद्योग स्थापना गरी गाउँमै आर्थिक क्रियाकलाप कायम गर्ने मेरो सोच हो। त्यसका लागि निर्णायक तहमा पुग्नु आवश्यक छ। प्रदेशसभा सदस्य हुँदा पार्टीभित्रको बाध्यता कारण काम गर्न सकिनँ, यसपटक ठूलो समर्थनसँग क्षेत्र परिवर्तन गर्ने तयारी छ।” शिक्षा र प्राविधिक विकासको पक्षमा बनियाले क्षेत्रभित्र स्नातकोत्तर विज्ञान संकाय र सूचना प्रविधि अध्ययनका लागि सुविधा उपलब्ध गराउने, प्राविधिक कलेज स्थापना गर्ने, सरकारी तथा सामुदायिक विद्यालय सुधार गर्ने र डिजिटल शिक्षा प्रणाली लागू गर्ने योजना अघि सार्नुभएको छ। विद्यालयमा आवश्यक दरबन्दी पूरा गरी गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने लक्ष्य पनि उहाँको प्राथमिकतामा छ।
सडक र यातायात सुधारमा बनियाले ठोस कार्यक्रम प्रस्तुत गर्नुभएको छ। उहाँका अनुसार पाँच वर्षभित्र सबै मुख्य सडक कालोपत्रे हुनेछन्, प्रमुख चार लेन सडक र रिङ रोड कार्यान्वयन हुनेछन्, साथै चकियाघाट, मन्झरिया, कमहरिया–सियारी, कचरिहवा र निविहवा क्षेत्रमा पुल निर्माण कार्य अघि बढाइनेछ। कम्तीमा १० नियमित बस सेवा, अटो, रिक्सा र टेम्पो सञ्चालन गर्दै व्यवस्थित यातायात समिति स्थापना गर्ने योजना पनि उहाँको एजेन्डामा छ।
कृषि र सिंचाइ आधुनिकीकरणका लागि बनियाले क्षेत्रको अन्न भण्डार, मर्चवार लिफ्ट सिंचाइ योजना र ५००० हेक्टर खेतयोग्य जमिनमा सिंचाइ सुविधा विस्तार गर्ने लक्ष्य राख्नुभएको छ। पुराना डीप ट्युबेल मर्मत, नयाँ जडान, मलखाद व्यवस्थापन, बीउ वितरण र कृषि सामग्री उपलब्ध गराउने योजना पनि अघि बढाइनेछ। बेलबासदेखि मर्चवारसम्म नहर कनेक्टिभिटी कायम गरेर वर्षभरी सिंचाइ सुनिश्चित गर्ने, परम्परागत मत्स्य पालन आधुनिकीकरण गर्ने र चिस्यान केन्द्र निर्माण गर्ने योजना पनि उहाँले अघि सार्नुभएको छ।
सामाजिक न्याय र समुदाय सशक्तीकरणमा बनिया सक्रिय छन्। मधेशी, दलित र पिछडिएका समुदायको अधिकार सुनिश्चित गर्दै महिला उत्थान, रोजगारी सिर्जना र स्वास्थ्य सेवा सुधारमा जोड दिइरहनुभएको छ। उहाँले मतदातालाई सचेत गराउनुभयो, “वर्षौंदेखि जितेर पनि क्षेत्रको विकास नगरेका पुराना प्रतिनिधिलाई फेरि मौका दिइयो भने परिवर्तनको अवसर गुम्नेछ। यसपटक मर्चवारबासी परिवर्तनको पक्षमा छन् र रास्वपाको उदय हुनेछ।” कन्हैया बनियाको दृष्टि स्पष्ट छ , गाउँदेखि शहरसम्म समग्र विकास र अवसर सिर्जना, जसले क्षेत्रको दीर्घकालीन समृद्धि र वास्तविक परिवर्तन सुनिश्चित गर्नेछ।

