भैरहवा, फागुन १५ निर्वाचन मिति नजिकिँदै जाँदा रुपन्देही–४ का गाउँ–बस्तीमा चुनावी गतिविधि तीव्र बनेको छ। प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वेन्द्रनाथ शुक्ल यतिबेला घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त हुनुहुन्छ। उहाँले घर–घर पुगेर विगतका कामको विवरण प्रस्तुत गर्दै आगामी कार्ययोजना साझा गरिरहनुभएको छ। स्थानीयसँगको छलफलमा शिक्षा, स्वास्थ्य सेवा, सडक विस्तार, खानेपानी तथा ढल व्यवस्थापनका समस्या प्रमुख रूपमा उठेका छन्।

ग्रामीण क्षेत्रमा सेवा प्रवाह अझ प्रभावकारी हुन नसकेको गुनासो सुन्दै शुक्लले निर्वाचित भए आवश्यकताको आधारमा प्राथमिकता निर्धारण गरी समाधान अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आफ्नो अघिल्लो कार्यकालको चर्चा गर्दै उहाँले मर्चवार क्षेत्रमा सिँचाइ सुविधा विस्तार, विद्युतीकरण र सडक पूर्वाधार सुदृढीकरणमा महत्वपूर्ण प्रगति भएको दाबी गर्नुभयो। खडवा बाँध निर्माण र डिप ट्युबेल जडानजस्ता योजनाबाट कृषकलाई प्रत्यक्ष लाभ पुगेको उहाँको भनाइ छ। ग्राभेल सडकबाट सुरु भएको विस्तार अहिले कालोपत्रे सडकसम्म पुगेको उल्लेख गर्दै उहाँले पूर्वाधार विकासले गति लिएको बताउनुभयो।
त्यसैगरी, मालपोत, नापी तथा विद्युत् प्राधिकरणका सेवा कार्यालय स्थानीय स्तरमै स्थापना गरिनु आफ्ना उपलब्धिमध्ये एक भएको उहाँले उल्लेख गर्नुभयो। यसबाट सर्वसाधारणलाई भैरहवा वा बुटवलसम्म धाउनुपर्ने अवस्थाको अन्त्य भएको दाबी गरिएको छ। शिक्षाको पहुँच विस्तारका लागि मझागाउँमा क्याम्पस स्थापना गरिएको जानकारी पनि उहाँले दिनुभयो। आगामी योजनाबारे बोल्दै शुक्लले २०८४ सालभित्र आधुनिक सुविधासहितको अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको बताउनुभयो। आवश्यक प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै निर्धारित समयमै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो। घरदैलोका क्रममा सुशासन र भ्रष्टाचार नियन्त्रणको विषय पनि व्यापक रूपमा उठेको उहाँले बताउनुभयो। शून्य सहनशीलताको नीति अपनाउँदै पारदर्शी नेतृत्व प्रदान गर्ने उहाँको दाबी छ।
निर्वाचनको सरगर्मीबीच शुक्लले विगतका उपलब्धि र भावी योजनालाई आधार बनाएर मतदातासँग समर्थन माग्दै मर्चवारलाई पूर्वाधार सम्पन्न र व्यवस्थित क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ।

