रूपन्देही, फागुन १४    रूपन्देहीको तिलोत्तमा नगरपालिका र सियारी गाउँपालिकाका विभिन्न वडामा निर्वाचनको माहोल क्रमशः सक्रिय बन्दै गएको छ। यसैबीच नागरिक उन्मुक्ति पार्टी नेपाल ले व्यापक घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद थालेको छ।

अभियानमा प्रत्यक्षतर्फका उम्मेदवार नन्दा चौधरी, समानुपातिक उम्मेदवार किरण गुप्ता र राजकिशोर हरिजनसहित स्थानीय नेता–कार्यकर्ताको सहभागिता रहेको जनाइएको छ। टोलीले घर–घरमा पुगेर पार्टीका नीति, कार्यक्रम र भावी योजना प्रस्तुत गर्दै मतदाताको सुझाव संकलन गरेको बताएको छ। घरदैलोका क्रममा नन्दा चौधरीले क्षेत्रको पूर्वाधार सुदृढीकरण, कृषि क्षेत्रको आधुनिकीकरण, गुणस्तरीय शिक्षा तथा प्रभावकारी स्वास्थ्य सेवामा सुधार आफ्नो मुख्य प्राथमिकता भएको उल्लेख गर्नुभयो।

जनताको आवश्यकता र सुझावलाई आधार बनाएर योजनाबद्ध विकास अघि बढाइने उहाँको भनाइ थियो। समानुपातिक उम्मेदवार किरण गुप्ताले महिला अधिकार, लैङ्गिक समानता र सामाजिक विभेद अन्त्यका विषयलाई जोड दिनुभयो। उहाँले महिलामाथि हुने विभेद रोक्न कानुनी तथा नीतिगत सुधार अपरिहार्य रहेको बताउँदै नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो।

घरदैलो अभियानका क्रममा स्थानीयले सडक स्तरोन्नति, सिँचाइ सुविधा विस्तार, स्वास्थ्य सेवाको पहुँच र रोजगारी सिर्जनाजस्ता विषयमा आफ्ना माग र गुनासा राखेका थिए। पार्टी नेतृत्वले ती मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ।