काठमाण्डौ, माघ २७
आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले क्यानडामाथि ५७ रनको प्रभावशाली जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

हिजो बेलुकी सम्पन्न खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याएको क्यानडा निर्धारित २० ओभरमा १५६ रनमै समेटियो। क्यानडाका नवनीत धालिवालले सर्वाधिक ६४ रनको योगदान दिए पनि टोलीलाई जिततर्फ डोर्‍याउन सकेनन्।

यसअघि अहमदावादमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा २१३ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो। टोलीका कप्तान एडेन माक्र्रमले ५९ रनको महत्वपूर्ण इनिङ खेले।हिजो भएका अन्य खेलहरूमा जिम्बावेले ओमानलाई ८ विकेटले पराजित गर्दा स्कटल्यान्डले इटालीलाई ७३ रनले हराएको थियो।

टी–२० विश्वकप अन्तर्गत आज पनि तीन खेलहरू तय छन्। आजको पहिलो खेलमा नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ, जुन दिल्लीमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। दोस्रो खेलमा न्युजिल्यान्ड र युएईबीच चेन्नईमा दिउँसो ३ः१५ बजे खेल हुनेछ। त्यस्तै तेस्रो खेलमा पाकिस्तान र अमेरिका बेलुका ७ः१५ बजे कोलम्बोमा आमनेसामने हुनेछन्।

प्रतियोगितामा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ चरणमा प्रवेश गर्नेछन्। त्यसपछि दुई समूहमा बाँडिएका टोलीमध्ये शीर्ष दुई–दुई टोली सेमिफाइनलमा पुग्नेछन्। टी–२० विश्वकपको १०औँ संस्करणको फाइनल खेल आउँदो मार्च ८ तारिख (फागुन २४) मा हुनेछ।